काठमाण्डौ । सनराइज बैंक लिमीटेडको नाफा समेत घटेको छ । यो बैंकको नाफा घटेर चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा २० करोड ३७ लाखमा सीमित बन्न पुुगेको हो । अघिल्लो वर्षको पहिलो त्रैमासमा यो बैंकले २५ करोड ३१ लख खूद नाफा कमाएको थियो । 

बैंकको खूद ब्याज आम्दानीमा पनि गिरावट आएको छ । अघिल्लो आबको पहिलो त्रैमासमा ५१ करोड ५६ लाख खूद ब्याज आम्दानी भएकोमा समीक्षा अवधिमा केही घटेर ५१ करोड ३८ लाख मात्र आम्दानी भएको हो । 

यो अवधिमा बैंकले ७ करोड ५ लाख राइटब्याक गरेको छ भने जोखिम व्यवस्थापनका लागि १५ करोड ६८ लाख प्रोभिजनमा राखेको छ । 

समीक्षा अवधिमा बैंकले ६३ अर्ब ६१ करोड निक्षेप संकलन गरी ५४ अर्ब ४९ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले ५४ अर्ब ८ करोड निक्षेप संकलन गरी ४६ अर्ब ४५ करोड कर्जा परिचालन गरेको थियो । 

यो अवधिमा बैंकले रिजर्ब कोषलाई केही मजबुत बनाएको छ । अघिल्लो आबको पहिलो त्रैमाससम्म १ अर्ब ९ करोड रहेको कोषमा समीक्षा अवधिसम्म १ अर्ब ७१ करोड रुपैयाँ जम्मा भएको छ । 

समीक्षा अवधिमा बैंकले खराब कर्जालाई केही घटाएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमाससम्म १.६९ प्रतिशत रहेको खराब कर्जा घटाएर समीक्षा अवधिमा १.४९ प्रतिशतमा सीमित पार्न बैंक सफल भएको छ । अघिल्लो वर्ष ४.३६ प्रतिशत रहेको कस्ट अफ फण्ड बढेर ७.३० प्रतिशत पुुगेको छ भने १५.८३ प्रतिशत रहेको इक्वीटीमा प्रतिफल घटेर ८.२६ प्रतिशतमा सीमित बन्न पुुगेको छ । 

अघिल्लो आबको पहिलो त्रैमाससम्म ५ अर्ब ३० करोड रहेको पूँजीलाई बढाएर ८ अर्ब १५ करोड पुर्याएको बैंकले नाफा बढाउन नसक्दा प्रतिसेयर आम्दानीमा पहिरो गएको छ । बैंकको प्रतिसेयर आम्दानी(वार्षिकीकृत) ९.९१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२१.०६ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३३.१२ गुणा कायम भएको छ ।