काठमाण्डौ । ग्लोबल मनी विक कार्यक्रमअन्तर्गत विश्वव्यापी रुपमा वित्तीय साक्षरता जनचेतना कार्यक्रमहरु सञ्चालन भइरहेकोमा मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आज बनेपा नगरमा सबै प्रदेशमा कार्यक्रम गरिसकेर अन्तिम  कार्यक्रमको आयोजना गरी सप्ताहव्यापी कार्यक्रम समापन गरेको छ। 

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार एक साता सम्म चलेको वित्तीय साक्षरता सचेतना अभियानअन्तर्गत मिर्मिरेले अधिराज्यका आफ्ना सातै प्रदेशका विभिन्न स्थानहरुमा वित्तीय साक्षरता सचेतनाका कार्यक्रमहरु सञ्चालन गरी करिब दुई हजार महिलालाई वित्तीय सचेतनासम्बन्धी तालिम प्रदान गरेको छ।

संस्थाको आजको कार्यक्रममा बनेपा नगरपालिका बजारमा संस्थाका कर्मचारीहरु, संस्थाको सदस्यहरु तथा स्थानीयहरु वित्तीय सचेतना सन्देशका प्ले कार्डहरुसहित प्रभातफेरी गरेको थियो। बजार परिक्रमापश्चात बनेपा पार्टी भेन्यूमा औपचारिक कार्यक्रमसमेत गरेको हो। 

संस्थाको पहिलो शाखा बनेपा शाखाको संयोजनमा भएको कार्यक्रममा केन्द्र नं. ९२ शान्तीनगर मिर्मिरे महिला समूहका प्रमुख सुशीला खड्काको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका कार्यकारी प्रमुखहरुले वित्तीय सचेतनासम्बन्धि विषयवस्तुहरुमा सहजीकरण गरेका थिए। 

कार्यक्रममा संस्थाका सहायक कार्यकारी प्रमुख बिर्ख बहादुर बोहरा र नायब कार्यकारी प्रमुख राजेन्द्र प्रसाद न्यौपानेले वित्तीय अनुशासन, पारिवारिक बजेट र योजना, बचतको महत्व, कर्जा सदुपयोगिता, सफा नोट नीति लगायतका विषयहरुमा सहजीकरण गरेका थिए। 

संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्करराज जोशीले नेपालभरि नै संस्थाले निरन्तर नियमित कार्यक्रमहरु गर्दै आएको र सदस्यहरुलाई पेसागत तालिम दिन सस्था अगाडि बढिरहेको र तालिमपश्चात उद्यमशिलता विकास हुने कार्यक्रमको छनौट गरी मागअनुसारले कार्यक्रमहरु सञ्चालन गरिँदै लैजाने बताए। 

कार्यक्रममा व्यवसाय प्रवर्द्धन तथा असुली विभागका प्रमुख बेद प्रकाश आचार्यले कार्यक्रमको उद्देश्य एवं वित्तीय साक्षरताको महत्वका बारेमा प्रकाश पारेका थिए।