काठमाण्डौ । प्रभु बैंक लिमिटेडले आज (साउन १५ गते) देखि लागू हुने गरी कर्जा र निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेको छ।

बैंकले लघुकर्जाअन्तर्गत पिछडिएको समुदायमा प्रवाह गर्ने सहुलियत कर्जा र अन्य किसिमका सहुलियत कर्जा अधिकतम २ प्रतिशतसम्म प्रिमियम तोकेको छ। यो प्रिमियममा बैंकको आधादर दर जोडेर ब्याज निर्धारण हुन्छ। बैंकको आधार दर ८.३२ प्रतिशत रहेको छ। अर्थात अधिकतम १०.३२ ब्याजसम्म यी कर्जा उपलब्ध हुनेछन्। 

यसैगरी बैंकले कर्पोरेट÷मल्टिनेसनल्स, प्रभु एसएमई लोन, इन्डाइरेक्ट/कर्पोरेट लेन्डिङ, कन्जुमर लोनअन्तर्गत घर कर्जा (अधिकतम १ करोड ५० लाख रुपैयाँसम्म), शैक्षिक कर्जा, प्रभु लोन अगेन्स्ट प्रपर्टी, पनर्सनल अटो लोनलगायत सबै किसिमका कर्जामा आधार दरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम जोडेर ब्याज निर्धारण गरेको छ। अर्थात यी सबै किसिमका कर्जामा बैंकले अधिकतम १३.३२ प्रतिशतसम्म ब्याज लिनेछ। 

यस्तै बैंकले निक्षेपतर्फ बचत खाताहरुमा २ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याज उपलब्ध गराउनेछ। बैंकले मुद्दति निक्षेपमा भने व्यक्तिगततर्फ ७.२५ प्रतिशत र संस्थागततर्फ ६.६० प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ। 

बैंकले विदेशी मुद्रा निक्षेपमा भने १ प्रतिशतदेखि १.५ प्रतिशतसम्म र प्रभु एनआरएन विदेशी मुद्रा मुद्दति निक्षेपमा समयावधिअनुसार १.५ प्रतिशतदेखि ३ प्रतिशतसम्म ब्याज उपलब्ध गराउनेछ।