काठमाण्डौ । प्रभू ग्रुपद्वारा संचालित प्रभू इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा अपत्यारिलो नाफा आर्जन गरेको छ । 

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यो वर्ष प्रभू इन्स्योरेन्सले खूद नाफामा २३९.८४ प्रतिशतको वृद्धि हासिल भएको हो । 

शुक्रबार कम्पनीले जारी गरेको बित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको ९ महिनाको अवधिमा २ करोड ७५ लाख रुपैयाँमा सीमित रहेको खूद नाफा यो वर्षको सोही अवधिमा ९ करोड ३५ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रिमियम तर्फको आम्दानी २७ करोड ८३ लाखबाट ३१ करोड २० लाख पुगेको छ । कम्पनीको आम्दानी बढेको र टाइटल क्लेम पेमेन्ट र एजेन्ट कमिसनतर्फको खर्च घटेको देखिएको छ । 

यो इन्स्योरेन्स कम्पनीको चुक्तापूँजी ३२ करोड ९० लाख र सञ्चित कोषमा ८ करोड २३ लाख रुपैयाँ रहेको छ । 

पोलिसी होल्डरको संख्या भने घटेको देखिएको छ । अघिल्लो आबको ९ महिनाको अवधिमा ५९.२९ हजार रहेका पोलिसी होल्डर यो  वर्ष घटेर ४८.९६ मा सीमित भएका छन् । कम्पनीको प्रतिशेयर आम्दानी २८ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १९२ रुपैयाँ पुगेको छ । 

यसैगरी, प्रिमियर इन्स्योरेन्स कम्पनी लिमीटेडले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा नाफामा ४०.७३ प्रतिशतको वृद्धि हासिल गरेको छ ।

शुक्रबार कम्पनीद्वारा जारी बित्तीय विवरण अनुसार निर्जिवन बिमाको क्षेत्रमा कार्यरत यो इन्स्योरेन्सको खूद नाफा ६ करोड ७ लाखबाट बढेर यो वर्ष ८ करोड ५४ लाख पुगेको छ । कम्पनीको प्रिमियमबाट हुने खूद आम्दानी समेत गत वर्षको २० करोड ७३ लाखबाट बढेर यो वर्ष ३१ करोड ९९ लाख रुपैयाँ पुगेको छ । 

यो इन्स्योरेन्स कम्पनीको चुक्तापूँजी  ३७ करोड ३७ लाख रहेको छ भने स    िञ्चत कोषमा १३ करोड ३२ लाख रुपैयाँ रहेको छ । अघिल्लो आ.ब.को चैत मसान्तसम्म कम्पनीको सञ्चित कोषमा १० करोड मात्र थियो । 

इन्स्योरेन्स फण्ड ११ करोड ६ लाखबाट बढेर यो वर्ष १४ करोड १० लाख पुगेको छ । यो कम्पनीले पोलिसी होल्डरको संख्यामा व्यापक वृद्धि गरेको छ । अघिल्लो वर्षको तेश्रो त्रैमासमा ४३.४१ हजार रहेका पोलिसी होल्डर चालु आ.ब.को सोही अवधिसम्म आइपुग्दा ७८.५३ हजार पुगेका छन् । 

तेश्रो त्रैमाससम्ममा प्रिमियर इन्स्योरेन्सको प्रति शेयर आम्दानी २२.८७ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १७३.३९ रुपैयाँ पुगेको छ ।