काठमाण्डौ । प्रभू बैंकले विद्यार्थीहरुको सर्टिफिकेट धितो राखेर शैक्षिक कर्जा उपलब्ध गराउने भएको छ । 

बैंकले पहिलोपटक विद्यार्थीको सर्टिफिकेट धितोको रुपमा राखेर काठमाण्डौ इञ्जिनियरिंग कलेजमा इञ्जिनियरिंग संकाय अन्तर्गत स्नातक तहमा अध्ययन गर्ने प्रति विद्यार्थीलाई ३ लाख रुपैयाँसम्मको शैक्षिक कर्जा उपलब्ध गराउने भएको हो । 

शैक्षिक कर्जा प्रवाह सम्बन्धी सम्झौता बैंक र कलेजबीच सोमबार एक समारोहका बीच सम्पन्न भयो । काठमाण्डौ महानगरपालिका वडानम्बर १४ स्थित सो कलेजका स्नातक तह अध्ययनरत विद्यार्थीहरुले यो सुविधा पाउने बताइएको छ । 

सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र काठमाण्डौ इञ्जिनियरिङ कलेजका तर्फबाट प्रबन्ध निर्देशक राजेन्द्र शाक्यले हस्ताक्षर गरे । 

सम्झौता अनुसार प्रति विद्यार्थी अधिकतम् रु. ३ लाख रुपैयाँसम्म कर्जा दिन सकिने र यसका लागि विद्यार्थीले आफ्ना एसएलसीदेखिका सबै सक्कल शैक्षिक प्रमाणपत्रहरु बैंकमा धितोको रुपमा बुझाउनुपर्ने छ । शैक्षिक प्रमाण पत्रको आधारमा उपलब्ध गराईने शैक्षिक कर्जा बैंकले उपलब्ध गराएको भुक्तानी तालिका अनुसार ४ वर्ष भित्र चुक्ता गरी सम्बन्धित विद्यार्थीले सक्कल शैक्षिक प्रमाण पत्रहरु फिर्ता लैजानसक्ने व्यवस्था गरिएको बैंकले एक विज्ञप्तिमार्फत जनाएको छ । 

उच्च शिक्षा हासिल गर्न विदेश जान चाहने नेपाली विद्यार्थीहरुलाई आवश्यक पर्ने सम्पूर्ण बैंकिङ सेवा आप्mना सबै शाखा कार्यालयहरुबाट प्राथमिकताका साथ उपलब्ध गराउँदै आएको प्रभु बैंकले स्वदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुको आर्थिक कठिनाईलाई मध्यनजर गरी शैक्षिक कर्जा स्किम सञ्चालनमा ल्याएको प्रमुख कार्यकारी अधिकृत शेरचनले जानकारी दिए । बैंकले सुरुवात गरेको शैक्षिक कर्जा स्कीमबाट आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्न कठिनाई भोगिरहेका विद्यार्थीहरुलाई राहात पुग्ने बैंकले विश्वास लिएको छ ।