काठमाण्डौ । सैनिक कल्याणकारी कोष जंगीअड्डा र प्रभु बैंक लिमिटेडबीच नेपाल सैनिकका जेहेन्दार सन्ततीहरुलाई शैक्षिक कर्जा उपलब्ध गराउने सम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएको छ । 

फागुन १४ गते सैनिक कल्याणकारी कोष जंगी अड्डाका तर्फबाट उपरथी ताराध्वज पाण्डे र प्रभु बैंक लिमीटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सैनिक कल्याणकारी कोष र प्रभु बैंकबीच मंगलबार सम्पन्न सम्झौताबमोजिम नेपाल सैनिक जंगी अड्डाद्वारा सञ्चालित सैनिक सन्तती प्राविधिक शिक्षण सहुलियत कर्जा, २०७५ कार्यान्वयनका लागि सैनिक कल्याणकारी कोषको सिफारिसमा बहालवाला तथा अवकाशप्राप्त सकल दर्जाका सैनिकहरुका छोराछोरीहरुलाई स्वदेश तथा विदेशमा प्राविधिक विषयअन्तर्गत जस्तै चिकित्साशास्त्र, ईञ्जिनियरिङ्ग, सूचना प्रविधि, कृषि र पशु विज्ञान तथा वन विज्ञान संकायमा स्नातक वा सो भन्दा माथिल्लो तहको शिक्षा हासिल गर्नका लागि प्रभु बैंकले आवश्यक प्रक्रिया पूरा गरी शैक्षिककर्जा सुविधा उपलब्ध गराउनेछ । 

यो शैक्षिक कर्जा सुविधा रकम सहुलियतपूर्ण ब्याजदरमा अधिकतम रु. २५ लाखसम्मको हुनेछ । यो शैक्षिक कर्जा सुविधा प्रभु बैंक लिमीटेडको बबरमहलस्थित मुख्य शाखा कार्यालयबाट अथवा कर्जा सुविधा लिन चाहने विद्यार्थीलाई पायक पर्ने बैंकको जुनसुकै शाखा कार्यालयबाट झण्झटरहित तवरले प्राथमिकताकासाथ उपलब्ध हुनेछ । 

सैनिक कल्याणकारी कोष र प्रभु बैंकबीच सम्पन्न शैक्षिक कर्जा सम्बन्धी सम्झौताले बहालवाला तथा अवकाशप्राप्त नेपाल सैनिकका क्षमतावान एवं जेहेन्दार सन्ततीहरुलाई विभिन्न प्राविधिक विषयहरुमा उच्चशिक्षा हासिल गर्नका लागि आर्थिक सहयोग हुनेछ । यस सम्झौताबाट सैनिक सन्तती प्राविधिक शिक्षण सहुलियत कर्जा, २०७५ पूर्ण रुपमा कार्यान्वयनमा आई आप्mना  हिताधिकारी तथा बहालवाला एवं अवकाशप्राप्त सैनिकका सन्ततीहरुलाई उच्चशिक्षा हासिल गराई सम्मानपूर्वक जीवन यापनमा सहयोग पुर्याउने एवं मुलुकलाई आवश्यक पर्ने दक्ष एवं प्राविधिक जनशक्ति उत्पादनमा योगदान पुर्याउने सैनिक कल्याणकारी कोषको योजना सफलीभूत हुने भएको छ । 

सम्बन्धित विद्यार्थीहरुको उच्च शिक्षा हासिलगर्ने अभिलाषा पूरा हुने बैंकले विश्वास लिएको छ ।