काठमाण्डौ । माछापुच्छ्रे बैंकले आर्टिफिसियल इन्टेलिजेन्स सेवा ‘माया’को शुरुवात गरेको छ ।

हाल‘माया’को सेवा बैंकको वेबसाईट तथा फेसबुक मेसेञ्जरमा उपलब्ध रहेको र ‘माया’मार्फत माछापुच्छ्रे बैंकका सेवा सुविधाहरु लगायत बैंकिङ्ग सम्बन्धी जिज्ञासाहरुको जवाफ पाउन सकिने बैंकले एक विज्ञप्तिमार्फत  जनाएको छ ।  

यो सेवा आर्टिफिसियल इन्टेलिजेन्समा आधारित भएकोले ग्राहकहरुसँगको अन्तरक्रियाबाट ‘माया’ले स्वयं पनिआफ्नो बौद्धिकता अभिवृद्धि गर्दै लैजाने बताइएको छ ।

फेसबुक मेसेञ्जरमा सम्पर्क गरी ग्राहकहरुले चौबिसै घण्टा सातै दिन आफ्नो खाताको ब्यालेन्स, खाताको विवरण, नजिकका शाखा, ए.टि.एम, बैंकले प्रदान गरिरहेको बचत खाता, कर्जा, ब्याजदर, वित्तीय साक्षरता सम्बन्धी जानकारी ‘माया’मार्फत पाउन सकिने बैंकले जानकारी गराएको छ ।

यस सेवामार्फत ‘माया’ले हजारौं ग्राहकहरुको लाखौं प्रश्नलाई तुरुन्त विभिन्न स्रोतमार्फत सूचनाहरुलाई सङ्कलन गरी ग्राहकको जिज्ञासाहरु मेटाउनसक्ने क्षमता रहेको बैंकले बताएको छ । साथै, उक्त सेवा नेपालमै पहिलोपटक बैंकिङ्ग क्षेत्रमा प्रयोगमा ल्याएको बैंकले जनाएको छ ।

ग्राहकमाझ ‘माया’ले सरल, सहज, भरपर्दो तथा तुरुन्त जानकारी दिनसक्ने माध्यमको रुपमा बेग्लै परिचय बनाउने विश्वास बैंकले लिएको छ । ‘माया’सँग अन्तरक्रिया गर्न फेसबुक मेसेञ्जरमा माछापुच्छ्रे बैंक सर्च अथवा मेसेञ्जर कोड वा क्यू.आर. कोड स्क्यान गर्नुपर्नेछ ।

बैंकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २७ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा ११५ स्थानबाट ग्राहकममा बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा छन् ।