काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि १७ प्रतिशतसम्म लाभांश वितरणको क्षमता बनाएको छ ।

समीक्षा अवधिमा बैंकले १ अर्ब ६० करोड रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको हो । समीक्षा अवधिमा बैंकको खुद नाफा २ अर्ब ३६ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको खुद नाफा १ अर्ब ७२ करोड रुपैयाँमा थियो । बैंकको नाफा ३७.०२ प्रतिशत वृद्धि भएको छ ।

अघिल्लो वर्ष २ अर्ब ४२ करोड रुपैयाँमा सीमित संचालन मुनाफा बढेर यो वर्ष ३ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष २ अर्ब ६६ करोड रुपैयाँमा सीमित खुद ब्याज आम्दानी समीक्षा अवधिमा बढेर ३ अर्ब ५९ करोड पुगेको छ ।

अघिल्लो वर्ष १ अर्ब ३३ करोड रुपैयाँ रहेको रिटेन अर्निङ यो वर्ष बढेर १ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । बैंंकले अघिल्लो वर्षको तुलनामा ४१.९३ प्रतिशतले वृद्धि गर्दै रिजर्बको आकार २ अर्ब ६० करोड रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष रिजर्बको आकार १ अर्ब ८३ करोड रहेको थियो ।

समीक्षा अवधिमा बैंकले ७७ अर्ब ४ करोड रुपैयाँ निक्षेप संकलन गरी ७२ अर्ब ५१ करोड रुपैयाँ बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ७२ अर्ब ६३ करोड रुपैयाँ निक्षेप संकलन गरी ६७ अर्ब १३ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २५.३८ रुपैयाँ रहेको छ। बैंकको खराब कर्जाको अनुपात ०.९२ प्रतिशत रहेको छ भने कस्ट अफ फण्ड ७.९० प्रतिशत र आधार दर १०.०३ प्रतिशत रहेको छ ।