काठमाण्डौ । प्राइम कमर्सियल बैंकले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ। 

बैंक सञ्चालक समितिको आज बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी कुल ८.९५ प्रतिशतले हुन आउने १ अर्ब ६६ करोड ९७ लाख ४० हजार ८९१ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। जसमा ४ प्रतिशत बोनस शेयर र ४.९५ प्रतिशत नगद लाभांश (करसहित) छन्। 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको वार्षिक साधारणसभाबाट पारित भएपश्चात सेयरधनीहरुलाई प्रदान गरिने बैंकले जनाएको छ। 

सोही बैठकले काठमाण्डौको नयाँ बानेश्वरनिवासी प्राडा तारादेवी चित्रकारलाई बैंक तथा वित्तीय संस्थासम्वन्धी ऐन, २०७३ बमोजिम स्वतन्त्र सञ्चालक पदमा नियुक्ति गर्ने निर्णय गरेको छ। नेपाल विद्याभूषण “क” बाट विभूषित, व्यवस्थापन विषयअन्तर्गत उत्पादनमूलक प्रतिष्ठानको सन्दर्भमा नेपालमा निजीकरणको समीक्षा विषयमा विद्यावारिधि गरेकी चित्रकार त्रिभुवन विश्वविद्यालयअन्तर्गत पब्लिक युथ क्याम्पसमा लामो समयदेखि व्यवस्थापन संकायमा रही बैंक तथा वित्तीय क्षेत्र, स्टक बजार, लेखा, विषयमा प्राध्यापन गरेकी थिइन्। उनका विभिन्न शोधमूलक लेख रचना प्रकाशित छन् भने सामाजिक क्षेत्रमा समेत सक्रिय छिन्।