काठमाण्डौ । प्राप्ति प्रक्रिया टुंग्याउन नबिल बैंक र युनाइटेड फाइनान्स लिमिटेडले एकैदिन विशेष साधारणसभा डाकेका छन्।
नबिल र युनाइटेडले आउँदो असार ५ गते विशेष साधारणसभा डाकेका हुन्। दुवैको सभा काठमाण्डौ दरबारमार्गस्थित आआफ्नै प्रधान कार्यालयमा भर्चुअल माध्यमबाट बिहान ११ बजेबाट सुरु हुनेछ।
दुवै सभाले प्राप्ति प्रयोजनका लागि मूल्यांकनकर्ताबाट प्राप्त सेयर स्वाप रेसियो अनुमोदन गर्नेछ। नबिलले युनाइटेडलाई १ः०.३५ अनुपातमा प्राप्ति गर्ने भएको हो। यसको अर्थ युनाइटेडको १०० कित्ता सेयर हुनेहरुले प्राप्तिपछि नबिलको ३५ कित्ता सेयर पाउनेछन्।
दुवै सभाले प्राप्ति प्रयोजनका लागि भएको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकर्ताको नियुक्ति, सम्पत्ति तथा दायित्व मूल्यांकन प्रतिवेदन, समझदारी तथा अन्तिम सम्झौतापत्रलगायत सम्पूर्ण कामकारबाहीहरु अनुमोदन गर्नेछ।
युनाइटेडलाई प्राप्ति गरेपश्चात नबिलको पुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम बैंकको प्रबन्धपत्र संशोधनको प्रस्तावलाई सभाले स्वीकृति प्रदान गर्नेछ।
प्राप्ति प्रयोजनका लागि भएका गरेका काम कारबाही, पुँजी संरचना, प्रबन्धपत्र तथा नियमावली संशोधनका सम्बन्धमा नियमनकारी निकायहरुबाट संशोधन, परिमार्जन तथा थपघट गर्न कुनै निर्देशन प्राप्त भएमा सोहीबमोजिम संशोधन वा परिमार्जनसमेतका सम्पूर्ण कार्यहरु गर्न सञ्चालकलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।
प्राप्ति गर्ने सम्बन्धमा अन्तिम सम्झौता गर्नेलगायतका आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालकलाई पूर्ण अख्तियारी दिने निर्णय पनि सभाले गर्ने छ।
सभा प्रयोजनका लागि नबिल र युनाइटेडले आउँदो जेठ २८ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्।
नबिल र युनाइटेड फाइनान्सबीच गत वैशाख १७ गते प्राप्तिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो। नबिल बैंकका तर्फबाट मर्जर कमिटीका संयोजक उदयकृष्ण उपाध्याय र युनाइटेड फाइनान्सका तर्फबाट मर्जर कमिटी सदस्य मनीष खेम्काले सहमतिपत्रमा हस्ताक्षर गरेका थिए।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19