काठमाण्डौ । प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेका चार जीवन बीमा कम्पनीले चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

आइएमई लाइफ, सिटिजन लाइफ, सन नेपाल लाइफ र रिलायबल नेपाल लाइफले असोज मसान्तसम्मको वित्तीय विवरण प्रकाशित गरेका हुन् । यतिबेला यी चारवटै जीवन बीमा कम्पनीको सेयर दोस्रो बजारमा कारोबार भइरहेको छ ।

सेयर लगानीकर्ताहरुको रोजाईमा यी चार जीवन बीमा कम्पनीको सेयर पर्ने गरेको छ । लगानीकर्ताहरुका लागि सेयरमा लगानी गर्नुअघि कम्पनीहरुको वित्तीय विवरण राम्रोसँग विश्लेषण तथा अध्ययन गर्नु जरुरी हुन्छ । 

कम्पनीले आर्जन गरेको खुद मुनाफा, प्रतिसेयर आम्दानी, नेटवर्थ, जीवन बीमा कोष, खुद दाबी भुक्तानी, लगानी कर्जा तथा अन्यबाट हुने आय जस्ता सूचांकहरु लगानीकर्ताहरुले निक्र्यौल गर्नुपर्ने हुन्छ । यस्ता सूचकहरु नकारात्मक अवस्थामा भए लगानी गर्न अनुचित मानिनेछ । प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेका यी चार जीवन बीमा कम्पनीको आज हामीले तुलनात्मक विश्लेषण गरेका छौं । 
खुद नाफाको आधारमा 
लगानीकर्ताहरुले सबैभन्दा पहिला कम्पनीको नाफा–नोक्सान अवस्था के–कस्तो अवस्थामा छ, त्यो हेर्ने गर्दछन् । कम्पनी नाफामा रहेको अवस्थामा कम्पनीले लगानीकर्तालाई मुनाफा तथा प्रतिफल बाँड्न सक्ने अवस्थामा रहेको जनाउँदछ । चालू आवको पहिलो त्रैमाससम्म चार जीवन बीमा कम्पनीमध्ये सबैभन्दा बढी नाफा कमाउने कम्पनीमा सन नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । 

कम्पनीले प्रथम त्रैमाससम्ममा १६ करोड ५३ लाख २७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । त्यस्तै दोस्रोमा आइएमई लाइफ रहेको छ । आइएमई लाइफले असोज मसान्तसम्म १३ करोड ३ लाख ८७ हजार रुपैयाँ नाफा कमाएको छ ।

त्यस्तै, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ११ करोड ९४ लाख ३ हजार रुपैयाँ र सिटिजन लाइफले ७ करोड १४ लाख ८५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । 

जीवन बीमा कोषको आधारमा 
जीवन बीमा कम्पनीहरुले आर्जन गरेको खुद नाफाको केही प्रतिशत रकम जीवन बीमा कोषमा सञ्चित गर्नुपर्ने हुन्छ । जीवन बीमा कोषको आकारको आधारमा कुन कम्पनीले कति सम्म जोखिम बहन गर्न सक्छ भन्ने बुझ्न सकिन्छ । 

प्रथम त्रैमाससम्म सबैभन्दा बढी जीवन बीमा कोषमा सिटिजन लाइफले ११ अर्ब ७ करोड ४५ लाख रुपैयाँ सचित गर्न सफल भएको छ । त्यस्तै, रिलायबल नेपाल लाइफले ८ अर्ब २ लाख २९ हजार, आइएमई लाइफले ७ अर्ब ४६ करोड ४८ लाख रुपैयाँ र सन नेपाल लाइफले ६ अर्ब २७ लाख ४५ हजार रुपैयाँ संचित गरेको छ । 

प्रतिसेयर आम्दानीको आधारमा 
प्रतिसेयर आम्दानी (ईपीएस) कम्पनीहरुको मुख्य सूचक मानिन्छ । सेयरमा लगानी गर्नुअघि लगानीकर्ताहरुले कम्पनीको प्रतिसेयर आम्दानीको बारेमा पनि बुझ्नु उचित मानिनेछ । करपछिको नाफालाई कुल सेयर संख्याले भाग गर्दा आउने प्रतिफललाई नै प्रतिसेयर आम्दानी भनिन्छ ।

यो सूचकले कम्पनीको मुनाफा आर्जनको क्षमता देखाउने हुँदा कम्पनीको आधारभुत पक्षको विश्लेषणको प्रमुख सूचकको रुपमा लिइन्छ । 

प्रथम त्रैमाससम्म सबैभन्दा बढी ईपीएस हुने कम्पनीमा सन नेपाल लाइफ रहेको छ । कम्पनीको इपीएस २०।६७ रुपैयाँ रहेको छ । त्यस्तै, आइएममई लाइफको १३.०४ रुपैयाँ, रिलायबल नेपाल लाइफको ११.९४ रुपैयाँ र सिटिजन लाइफको ७.६३ रुपैयाँ रहेको छ । 
प्रतिसेयर नेटवर्थको आधारमा 
प्रतिसेयर नेटवर्थ (बुकभ्यालु) पनि प्रमुख सूचक मानिन्छ । प्रतिसेयर नेटवर्थबाट कम्पनीले दायित्व तिर्न सकिरहेको छ या छैन बुझ्न सकिन्छ । यो दरमा बृद्धि हुनु नै राम्रो मानिन्छ । नेटवर्थ बृद्धिदरले कम्पनीको दायित्व घटिरहेको बुझ्न सकिन्छ । पहिलो त्रैमाससम्म चार जीवन बीमा कम्पनीमध्ये सबैभन्दा बढी नेटवर्थ हुने कम्पनीमा सन नेपाल लाइफ रहेको छ । कम्पनीको बुकभ्यालु १८१.७३ रुपैयाँ रहेको छ । 
त्यस्तै, सिटिजन लाइफको १८१.४१ रुपैयाँ, रिलायबल नेपाल लाइफको १७६ रुपैयाँ र आइएमई लाइफको १७१.९९ रुपैयाँ रहेको छ । 
खुद बीमा शुल्कको आधारमा 
खुद बीमा शुल्क जीवन बीमा कम्पनीहरुको मुख्य सूचक हो । खुद बीमा शुल्क आर्जन बीमा कम्पनीको व्यवसायको मुख्य सूचक भएकोले कुन कम्पनीले कति व्यवसाय भित्र्याउन सफल भयो भन्ने बुझ्न सकिन्छ ।

सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्ने कम्पनीमा सिटिजन लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले चालु आर्थिक वर्षको तीन महिनामा १ अर्ब ४२ करोड २१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । 
त्यस्तै, आइएमई लाइफ इन्स्योरेन्सले पनि एक अर्ब ३ करोड ९८ लाख रुपैयाँ प्रिमियम कलेक्सन गरेको छ । त्यस्तै, रिलायबल नेपाल लाइफले ९३ करोड ३५ लाख ८६ हजार रुपैयाँ र सन नेपाल लाइफले ८५ करोड १३ लाख ८१ हजार रुपैयाँ प्रिमियम संकलन गरेको छ । 
दाबी भुक्तानीको आधारमा 
बीमा कम्पनीहरुले वित्तीय विवरणमा दाबी भुक्तानी सूचक पनि छुट्याएको हुन्छ । कम्पनीहरुले कति दाबी भुक्तानी गरेको छ, त्यसैको आधारमा कम्पनी बीमितमैत्री छ या छैन, थाहा पाउन सकिन्छ । कम्पनीले जति धेरै विजनेस गर्छ उति नै धेरै लगानीको दायरा बढाउँछ र दाबी भुक्तानी पनि दिने गर्दछ ।

चालू आवको पहिलो त्रैमाससम्म सबैभन्दा बढी दाबी भुक्तानी गर्ने कम्पनीमा सिटिजन लाइफ रहेको छ । कम्पनीले १ अर्ब २८ करोड ८८ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । 

त्यस्तै, आइएमई लाइफले ९६ करोड ४९ लाख ६४ हजार रुपैयाँ, रिलायबल नेपाल लाइफले ८४ करोड ८३ लाख ९३ हजार रुपैयाँ र सन नेपाल लाइफले ६५ करोड १४ लाख ९६ हजार रुपैयाँ क्लेम सेटलमेन्ट गरेको छ । 
पीई रेसियोको आधारमा 
मूल्य आम्दानी अनुपात (पीई रेसियो) सेयर लगानीकर्ताका लागि महत्वपूर्ण हुन्छ । यो सूचकले कम्पनीले कमाएको १ रुपैयाँलाई लगानीकर्ताले कति रुपैयाँ तिरिरहेका छन् भन्ने देखाउँछ । यो अनुपात १८ देखि २५ को हाराहारीमा भए राम्रो मानिन्छ । पीई रेसियो धेरै भएमा सिद्धान्तको आधारमा राम्रो मानिदैन । 

पहिलो त्रैमाससम्म सबैभन्दा कम पीई रेसियो सन नेपाल लाइफको रहेको छ । कम्पनीको मुख्य आम्दानी अनुपात २०.२७ रहेको छ । त्यस्तै, रिलायबल नेपाल लाइफको ३४, आइएमई लाइफको ३७.१६ र सिटिजन लाइफको ५२.३३ रहेको छ