काठमाण्डौ ।प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले नेपाल बीमा प्राधिकरणलाई बीमा कम्पनीको प्रिमियममा आईपीओ निष्कासन रोक्न निर्देशन दिएको छ । 

लेखा समितिको बैठकले बीमा ऐन २०७९ विपरीत बीमा कम्पनीहरुलाई प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न अनुमति दिएको भन्दै त्यस्ता कार्य सच्याउन प्राधिकरणलाई भनेको छ ।
 

संघीय संसद अन्तर्गतको लेखा समितिको बिहीबार सम्पन्न बैठकको निर्णयले ‘बीमा कम्पनीलाई प्रिमियममा सेयर बिक्री गर्न नेपाल बीमा प्राधिकरणले स्वीकृत दिनु बीमा ऐनको विपरीत र सर्वसाधारण लगानीकर्ताको हितविपरित देखिएकाले सो कार्यलाई तत्काल सच्याउन समितिको यो बैठक नेपाल बीमा प्राधिकरणलाई निर्देश गर्दछ’ भनिएको छ । 
 

बीमा ऐन, २०७९ को दफा ४५ को उपदफा (५) मा ‘प्रचलितकानूनमा जेसुकै लेखिएको भएपनि बीमा कम्पनीले सर्वसाधारणबाट सेयर खरिदका लागि दरखास्त आह्वान गर्दा सेयर अंकित मूल्यको शतप्रतिशत रकम माग गर्नुपर्नेछ’ भन्ने व्यवस्थालाई उद्धृत गर्दै समितिले प्राधिकरणलाई बीमा कम्पनीको प्रिमियम मूल्यमा आईपीओ निष्कासन रोक्न निर्देशन दिएको हो । 
 

बीमा कम्पनीहरुले कम्पनी स्थापना गर्दा नै ३० प्रतिशत सेयर सर्वसाधारणका लागि संरक्षित गरेको कारण अंकित मूल्यभन्दा बढी प्रिमियम मूल्यमा सेयर जारी गर्न अनुमति दिन नमिल्ने लेखा समितिको निष्कर्ष छ । 
सो सम्बन्धि व्यवस्था बैंक तथा वित्तीय संस्थाहरुमा लागू भइरहेको लेखा समितिले बताएको छ ।

तर बीमा कम्पनीहरुलाई भने प्रिमियममा सेयर बिक्री गर्न बीमा प्राधिकरणले स्वीकृति दिनु बीमा ऐनको विपरीत र सर्वसाधारण लगानीकर्ताको हितविपरीत देखिएको भन्दै सो कार्य तत्काल सच्याउन समितिले दिर्नेशन दिएको हो । 
 

हालसम्म पाँच वटा बीमा कम्पनीले प्रिमियम मूल्यमा आईपीओ जारी गरिसकेका छन् । जीवन बीमा कम्पनीमा सिटिजन लाइफ, रिलायबल नेपाललाइफ, सन नेपाल लाइफ र आइएमई लाइफ इन्स्योरेन्सले प्रिमियममा आईपीओ निष्कासन गरेर उक्त कम्पनीहरुको सेयर दोस्रो बजारमा कारोबार भइसकेको छ ।

त्यस्तै, हिमालयन रिइन्स्योरेन्सले भने भर्खरै मात्र प्रिमियममा आईपीओ निष्कासन गरी बाँडफाँटसमेत गरिसकेको छ ।