काठमाण्डौ ।निर्जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्ष २०८०/८१ को मंसिर महिनासम्ममा १५ अर्ब ७२ करोड १० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।
 

नेपाल बीमा प्राधिकरणका अनुसार १४ वटा निर्जीवन बीमा कम्पनीले १५ अर्बमाथि प्रिमियम संकलन गरेका हुन् ।

निर्जीवन बीमा व्यवसाय गत वर्षको तुलनामा यो अवधिसम्ममा १.६१ प्रतिशतले घटेको छ । गतवर्षको यसै अवधिसम्म ती कम्पनीले १५ अर्ब ९७ करोड ८४ लाख रुपैयाँभन्दा बढी बीमा शुल्क आर्जन गरेका थिए । 
चालू आवको पाँच महिनासम्म सबैभन्दा बढी सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले १ अर्ब ९९ करोड रुपैयाँ प्रिमियम संकलन गरेर पहिलो श्रेणी कायम गरेको छ । त्यस्तै, दोस्रो बढी प्रिमियम संकलन गर्ने सिद्धार्थ प्रिमियर छ । कम्पनीले मंसिर महिनासम्ममा कुल १ अर्ब ६५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । 

 

त्यस्तै,पहिलो श्रेणीको ताज पहिरिंदै आएको शिखर इन्स्योरेन्सले भने सो अवधिसम्ममा १ अर्ब ५७ करोड प्रिमियम संकलन गरेर तेस्रो स्थान कायम गरेको छ । 
 

साथै हिमालयन एभरेष्टले १ अर्ब ३९ करोड, आइजीआई प्रुडेन्सियलले १ अर्ब ३८ करोड, नेकोले १ अर्ब ३३ करोड, युनाइटेड अजोडले १ अर्ब७ करोड, एनएलजीले १ अर्ब १ करोड, सानिमा जीआईसीले ९६ करोड, प्रभु इन्स्योरेनसले ८४ करोड रुपैयाँमाथि प्रिमियम संकलन गरेका छन् ।

त्यसैगरी, ओरियण्टलले ७२ करोड, राष्ट्रिय बीमाकम्पनीले ६२ करोड, नेपालले ६१ करोड र नेशनल इन्स्योरेन्सले ५१ करोड रुपैयाँमाथि प्रिमियम संकलन गरेका छन् । 
व्यवसाय बृद्धिमा को अघि ?
गत वर्षको तुलनामा यस वर्ष नौ वटा कम्पनीको व्यवसाय बढेको छ भने सलिकोसहित पाँच ओटा कम्पनीको व्यवसाय गत वर्षको तुलनामा घट्न पुगेको छ । 

 

प्रिमियम संकलनमा सबैभन्दा बढी बृद्धि गर्ने कम्पनीमा प्रभु इन्स्योरेन्स रहेको छ । कम्पनीले गतवर्षको मंसिर महिनासम्म संकलन गरेको बीमा शुल्कको तुलनामा यस वर्ष ३९.०५ प्रतिशतले बृद्धि गरेको छ । 
 

त्यस्तै, दोस्रोमा हिमालयन एभरेष्ट इन्स्योरेन्सले २६.५६ प्रतिशतले प्रिमियम बढाएको छ भने नेशनल इन्स्योरेन्सले २३.७८ प्रतिशतले बृद्धि गरेको छ । 
यसका साथै ओरियण्टलले २३.३३ प्रतिशत, सानिमा जीआईसीले १६.५३ प्रतिशत, एनएलजीले ८.३५ प्रतिशत, आइजीआई प्रुडेन्सियलले ६.९७ प्रतिशत, नेकोले ४.२६ प्रतिशत र शिखरले २.४१ प्रतिशतले व्यवसाय बढाएका छन् । 

 

यता पाँच वटा कम्पनीको व्यवसाय भने खस्किएको छ । सबैभन्दा बढी राष्ट्रिय बीमा कम्पनीको ५३.५५ प्रतिशतले घटेको छ ।

यसका साथै सिद्धार्थ प्रिमियरको १८.८५ प्रतिशत, युनाइटेड अजोडको १४.०६ प्रतिशत, नेपालइन्स्योरेन्सको ६.८८ प्रतिशत र सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ४.४३ प्रतिशतले घटेको छ । 

हेर्नुहोस् तथ्यां :

स्रोत : नेपाल बीमा प्राधिकरण