काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लगानीकर्तालाई सरप्राइज दिन सकेन । आज प्रकाशित यो कम्पनीको अपरिस्कृत वित्तीय विवरणमा कम्पनीको लोभलाग्दो प्रगति यात्रामा ब्रेक लागेको देख्न सकिन्छ । 

अरुबेला आउटस्ट्याण्डिङ रिपोर्ट प्रस्तुत गर्ने फरवार्डले पहिलो त्रैमासमा भने औसत मात्र प्रगति गरेको रिपोर्ट सार्वजनिक गरेको छ । 

समीक्षा अवधिमा फरवार्डले ३ करोड ३ लाख रुपैयाँ खूद नाफा आर्जन गरेको छ । यो भनेको अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा ६३.८० प्रतिशतले कम हो । 

कम्पनीको सञ्चालन मुनाफा ऋणात्मक बनेको छ । अघिल्लो वर्षको यही अवधिसम्म १३ करोड १८ लाख सञ्चालन मुनाफा गरेको कम्पनी समीक्षा अवधिमा भने ४ करोड ८५ लाख सञ्चालन घाटामा रहेको छ ।

समीक्षा अवधिको कम्पनीको खूद ब्याज आम्दानी नराम्रोसँग धक्का लाग्नु र सम्भावित जोखिम व्यवस्थापनका लागि पहिलाभन्दा बढी रकम विनियोजन गर्नुपर्ने अवस्था सिर्जना जस्ता कारणले नाफा लगायतका सूचकमा नराम्रोसँग हिट भएको देखिन्छ । 

समीक्षा अवधिका कम्पनीको खूद ब्याज आम्दानी २० करोड ६६ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो आम्दानी २७ करोड  २५ लाख रहेको थियो । कम्पनीको ब्याज आम्दानी बढे पनि ब्याज खर्चमा भएको अनपेक्षित बढोत्तरीले खूद ब्याज आम्दानी घटेको देखिन्छ । जस्तो: अघिल्लो वर्षको यही अवधिमा कम्पनीले ३४ करोड ४२ लाख ब्याजबापत खर्च गरी ६१ करोड ६८ लाख बढी ब्याज आम्दानी गरेको थियो । जब कि यो वर्ष ५० करोड ७६ लाख खर्च गर्दा ७१ करोड ४२ लाख मात्र ब्याज आम्दानी भएको छ । 

यस्तै, अघिल्लो वर्ष यही अवधिमा १२ करोड ५६ लाख रुपैयाँ मात्र सम्भावित जोखिम व्यवस्थापनका लागि छुट्याउनु परेकोमा यो वर्ष १८ करोड २३ लाख राख्नुपरेको छ । 

समीक्षा अवधिमा फरवार्डले ८ अर्ब २१ करोड निक्षेप संकलन गरी तथा १० अर्ब बढी सापटी लिई १९ अर्ब ८७ करोड बढी कर्जा प्रवाह गरेको छ । 

अघिल्लो वर्षको यही अवधिसम्म ७ अर्ब बढी निक्षेप संकलन गरी तथा १० अर्ब ४७ करोड बढी सापटी लिई १७ अर्ब ७५ करोड बढी कर्जा प्रवाह गरेको थियो । 

कुल ८४ करोड ४५ लाख चुक्तापूँजी रहेको कम्पनीको रिजर्बको आकार बढेर १ अर्ब ८९ करोडको उचाईमा पुगेको छ । 

समीक्षा अवधिका लागि कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी खुम्चिएर १४.३९ रुपैयाँमा सीमित बन्न पुगेको छ भने ३.७२ प्रतिशत रहेको निस्क्रिय कर्जाको अनुपात घटेर २.६० प्रतिशतमा सीमित भएको छ । निस्क्रिय कर्जा घट्नु चाहिँ कम्पनीको वित्तीय स्वास्थ्यका लागि राम्रो हो । 

अघिल्लो वर्ष ९.०७ प्रतिशत रहेको कोषको लागत(कस्ट अफ फण्ड) बढेर  ११.३६ प्रतिशत पुगेको छ भने प्रतिसेयर नेटवर्थ ३२४.०७ रुपैयाँ, मूल्य आम्दानी अनुपात १७८.४७ गुणा कायम भएको छ ।