काठमाण्डौ । माइक्रोफाइनान्स कम्पनीमा जायन्ट मानिने फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमीटेडको बढेको चुक्तापूँजी अनुसार नाफा आर्जन हुन नसक्दा वार्षिकीकृत प्रतिसेयर आम्दानी घटेको छ । 

यो कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा १५ करोड ५१ ला खूद नाफा आर्जन गरेको हो । यो भनेको अघिल्लो वर्षको यही अवधिको तुलनामा ६.६६ प्रतिशतले मात्र बढी हो । 

नाफामा ६.६६ प्रतिशत मात्र बढोत्तरी गरेको कम्पनीको चुक्तापूँजी भने अघिल्लो वर्षको तुलनामा ५० प्रतिशतले बढेको छ । फलस्वरुप अघिल्लो वर्ष यही अवधिमा १४५.४५ रुपैयाँ रहेको वार्षिकीकृत प्रतिसेयर आम्दानी(इपीएस) २८.९४ प्रतिशतले घटी १०३.३६ रुपैयाँमा सीमित बन्न पुगेको छ । 

कम्पनीले व्यवसाय बिस्तारमा ध्यान दिएका कारण खूद ब्याज आम्दानी २१.८५ प्रतिशतले बढेर ३७ करोड ८४ लाखको उचाईमा पुगेको छ । 

समीक्षा अवधिमा फरवार्डले ३ अर्ब ६१ करोड निक्षेप संकलन गरी तथा ४ अर्ब ३१ करोड सापटी लिएर ८ अर्ब ६७ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा २ अर्ब ७७ करोड निक्षेप संकलन गरी तथा ३ अर्ब ६३ करोड सापटी लिई ६ अर्ब ४९ करोड कर्जा परिचालन गरेको थियो ।

अघिल्लो वर्ष ७० करोड २९ लाखमा सीमित रिजर्बकोषको आकार बढेर ८८ करोड २३ लाखको उचाईमा पुगेको छ ।

कम्पनीले ०.६७ प्रतिशतको अनुपातमा रहेको खराब कर्जालाई घटाएर ०.६६ प्रतिशतमा झारेको छ ।

यो अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ ३९३.९६ रुपैयाँ र मूल्य आम्दानी अनुपात १४.३१ गुणा कायम भएको छ ।