काठमाण्डौ । एभरेष्ट बैंकमा लगानी रहेको(एभरेष्टको माउ संस्थाको रुपमा चिनिने) भारतको पञ्जाब नेशनल बैंक(पिएनबी)को १३ हजार ५०० करोड भारु ठगी गरेर फरार रहेका नामुद हिरा व्यापारी ब्रिटेनबाट पक्राउ परेको खबरसँगै बुधबार बैंकको सेयर मूल्यमा उछाल आएको छ । 

फरार हिरा कारोबारी निरव मोदीको पक्राउको खबर सनसनी बनेलगत्तै बैंकको सेयर मूल्यमा एकैदिन ४ प्रतिशतको उछाल आएको भारतीय मिडियाहरुले जनाएका छन् ।

बम्बई स्टक एक्सचेञ्ज(बिएसआई)मा दिउँसोबाट सुरु भएको कारोबारको क्रममा पछिल्लो दिनको तुलनामा चार प्रतिशतको उछाल आई पिएनबीको सेयर कारोबारको अन्तमा ३.३७ प्रतिशतको बढोत्तरीसहित ९३.५५ भारु प्रतिसेयरको उचाईमा पुग्यो । 

निरव मोदीलाई लण्डनमा मंगलबार दिउँसो पक्राउ गरिएको थियो । भारतबाट पिएनबीलाई करोडौं चुना लगाई भागेको एकवर्ष भन्दा केही समय बितेपछि भगौडा हिरा कारोबारी मोदी पक्राउ परेका हुन् । लण्डनको वेस्टनिमिन्स्टर कोर्टबाट निरव मोदीविरुद्ध गिरफ्तारी वारेन्ट जारी भएको एकसातापछि यूके पुलिसले उनलाई पक्राउ गरेको हो । 

भारतको केन्द्रीय जाँच ब्यूरोको आग्रहमा इन्टरपोलले निरव मोदीविरुद्ध जुलाई २०१८ मा रेड कर्नर नोटिस जारी गरेको थियो । 

गत हप्ता निरव मोदी लण्डनमा देखिएका थिए । 

मार्चको सुरुवातमा मुम्बईको एक विशेष अदालतले निरव मोदीकी पत्नी अमी मोदीविरुद्ध गैर जमानती वारेन्ट जारी गरेको थियो । अमी मोदीले ३ करोड डलर टान्सफर गर्नका लागि अन्तराष्टिय बैंक अकाउण्ट प्रयोग गरेकी आरोप लगाइएको छ ।

यस्तै, मार्च महिनामै मुम्बईको रायगढ जिल्लामा रहेको निरव मोदीको बंगला समेत नियन्त्रणमा लिइएको थियो । यो बंगलालाई ध्वस्त बनाउन स्पेश प्राविधिकहरुको टोलीले २ दिनदेखि काम गरिरहेको भारतीय मिडियाहरुले जनाएका छन् । यो बंगला करिब २० हजार वर्गफिटमा फैलिएको थियो ।
निरव मोदीको बंगला समेत अबैध रहेको समाचारमा दाबी गरिएको छ । 

निरव मोदी लण्डनको मेटो बैंकको एक शाखामा खाता खोल्न गएका बेला बैंकका एक क्लर्कको सुराकीको आधारमा पक्राउ परेका बताइएको छ । 

यो घटनाक्रमसँगै निरव मोदीलाई थप अनुसन्धानका लागि भारत ल्याउने बाटो सहज भएको र यसबाट पिएनबी घोटाला प्रकरणमा जोडिएका सबै दोषीसम्म जाँच अधिकारी पुग्ने र बैंकको डूबेको रकम समेत फिर्ता ल्याउन संभव हुने भन्दै पिएनबीका लगानीकर्तामा उत्साह देखिएको छ । 

अनुसन्धानको क्रममा मोदीसँग तीनवटा देशको पासपोर्ट र चारवटा भन्दा अधिक देशको रेसिडेन्सी कार्ड समेत फेला परेको समाचारमा बताइएको छ ।