काठमाण्डौ । फरवार्ड कम्युनिटी माइक्रोफाइनानस वित्तीय संस्था लिमिटेडको खुद नाफा आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा १६.७० प्रतिशतले घटेको छ।

गत आर्थिक वर्षको चौथो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको खुद नाफा २५ करोड ११ लाख रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको यही अवधिमा ३० करोड १४ लाख रुपैयाँ रहेको थियो। 

संस्थाको सञ्चालन मुनाफा पनि १७.२८ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष ४७ करोड ६८ लाख रुपैयाँ रहेको सञ्चालन मुनाफा घटेर समीक्षा अवधिको चौथो त्रैमासमा ३९ करोड ४४ लाख रुपैयाँमा सीमित बनेको छ। 

संस्थाले समीक्षा अवधिमा खुद ब्याज आम्दानीबापत भने ७३ करोड ५२ लाख रुपैयाँ आर्जन गरेको छ। जुन अघिल्लो वर्ष ७५ करोड ६ लाख रुपैयाँमा सीमित थियो। 

समीक्षा अवधिमा संस्थाले ५ अर्ब ९५ करोड रुपैयाँ सापटी लिई ११ अर्ब ५७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ४ अर्ब ९९ करोड रुपैयाँ सापटी लिई १० अर्ब ६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। 

संस्थाले समीक्षा अवधिमा रिजर्भको आकार २०.८९ प्रतिशतले बढाएको छ। अघिल्लो वर्ष ७६ करोड ४५ लाख रुपैयाँको रिभर्जको आकार समीक्षा अवधिमा बढेर ९२ करोड ४२ लाख रुपैयाँको उचाइमा पुगेको छ।

संस्थाको चुक्तापुँजी ५० करोड रुपैयाँको रहेको छ।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) अघिल्लो वर्षको तुलनामा १६.१७ प्रतिशतले घटेर ५०.१८ रुपैयाँमा समीति बनेको छ। अघिल्लो वर्ष ईपीएस ६०.२४ रुपैयाँ रहेको थियो।

पीई रेसियो ३२.९० गुणा रहेको संस्थाको प्रतिसेयर कुल नेटवर्थ २८४.७० रुपैयाँ रहेको छ।