काठमाण्डौ । फर्स्ट होम बायर (पहिलोपटक घर खरिद गर्ने व्यक्ति)ले २ करोड रुपैयाँसम्मको आवासीय घर कर्जा लिन सक्ने सहज व्यवस्था गरिएको छ। 

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत आवासीय प्रयोजनका लागि पहिलोपटक घर खरिद गर्ने व्यक्तिको सुविधाका लागि यो व्यवस्था ल्याएको हो। केन्द्रीय बैंकले वित्तीय सचेतनाका लागि फेरि एकपटक सूचना जारी गर्दै यसबारे अवगत गराएको हो। 

पहिलोपटक घर वा अपार्टमेन्ट खरिद वा घर निर्माणका लागि बैंक तथा वित्तीय संस्थाबाट २ करोड रुपैयाँसम्मको आवासीय घर कर्जा लिन सकिने सहज व्यवस्था रहेको राष्ट्र बैंकले जनाएको छ। 

तीन हजार बर्गफिटसम्मको घर निर्माण वा खरिद तथा अपार्टमेन्ट खरिद गर्नका लागि बैंक तथा वित्तीय संस्थाले धितो मूल्यांकनको ७० प्रतिशतसम्म यस्तो कर्जा प्रवाह गर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ। 

ब्याजदर वृद्धि भएमा मासिक किस्ता (ईएमआई) परिवर्तन नहुने व्यवस्था पनि बैंकहरुले गर्नुपर्ने राष्ट्र बैंकले निर्देशन दिएको छ।