काठमाण्डौ । विश्वका दुई सबैभन्दा ठूला विमान निर्माता कम्पनीका अधिकारीहरुले अमेरिका सरकारलाई मोबाइलको फाइभजी प्रविधिलाई लागू गर्न हतार नगर्न आग्रह गरेका छन्।

एउटा पत्रमा बोइङ र एयरबसका प्रमुख अधिकारीहरुले फाइभजी प्रविधिले ‘नागरिक उड्डयन उद्योगमा ठूलो नकारात्मक असर पर्न सक्ने’ चेतावनी दिएका छन्। यसअघि पनि फाइभजीको सी–ब्यान्ड तरंगको प्रयोगले विमानको विद्युतीय उपकरणको कामलाई प्रभावित पार्न सक्ने सम्भावना रहेको बताइएको थियो।

अमेरिकाका दुई ठूला टेलिकम कम्पनीहरु एटीएन्डटी र भेरिजन सन् २०२२ को जनावरी ५ देखि फाइभजी प्रविधि लागू गर्ने तयारीमा छन्। ‘फाइभजीले विमानको सुरक्षित उडान गर्ने क्षमतालाई नकारात्मक असर गर्न सक्छ’, बोइङमा डेभ कल्हन र एयरबस अमेरिकाका जेफ्री निटलले अमेरिकी यातायातमन्त्री पिट बुटजेजलाई पठाएको पत्रमा लेखिएको छ।

पत्रमा एयरलाइन्स फर अमेरिकाले गरेको एउटा अध्ययनको तथ्यांकलाई संलग्न गरिएको छ। सो अध्ययनले सन् २०१९ देखि अमेरिकामा फाइभजी नियम लागू भएको भए अहिलेसम्म ३ लाख ४५ हजार यात्रुवाहक उडान र ५ हजार ४०० मालवाहक उडान ढिलो वा अन्यत्रै अवतरण वा रद्द भएको हुने निष्कर्ष निकालेको छ।

उड्डयन उद्योग र अमेरिकी नागरिक उड्डयन निकाय एफएएले फाइभजीले विमानका उचाइ मापनयन्त्रजस्ता महत्वपूर्ण उपकरणलाई असर गर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

यही महिना एफएएले फाइभजीले उडान अन्यत्रै लग्नुपर्ने अवस्था आउन सक्ने भन्दै यस विषयमा विस्तृत जानकारी जनावरी ५ अगाडि दिने बताएको छ।

नोभेम्बरमा एटीएन्डटी र भेरिजनले फाइभजी लागू गर्ने कार्यक्रम जनावरीलाई सार्दै यसले विमानलाई गर्न सक्ने असर कम गर्ने उपायहरु लागू गर्ने बताएका थिए।

उड्डयन उद्योगले भने ती उपायहर पर्याप्त नभएको बताएको छ भने बोइङ र एयरबसले विमानस्थलमा र वरपर फाइभजी मोबाइल सिग्नल नियन्त्रण गर्ने प्रस्ताव गरेका छन्।

गत साता युनाइटेड एयरलाइन्सका प्रमुख कार्यकारी स्कट किर्बीले एफएएको फाइभजी नियमले अमेरिकाका ४० वटाभन्दा बढी ठूला विमानस्थलमा रेडिओ उचाइ उपकरण प्रयोग गर्न नसकिने बताएका थिए।

अमेरिकी मोबाइल सेवा प्रदायकहरुको समूह सीटीआईएले भने फाइभजी सुरक्षित रहेको र उड्डयन उद्योगले तथ्य बंग्याएर त्रास उत्पन्न गर्ने काम भएको जनाएको छ। ‘ढिला गर्नु घातक हुन्छ। लागू गर्न एक वर्ष ढिला गर्दा हाम्रो देश महामारीबाट पुनर्जागृत भइरहेको अवस्थामा आर्थिक वृद्धिबाट ५० अर्ब अमेरिकी डलर घट्छ’, सीटीआईएका प्रमुख कार्यकारी मेरिडिथ एट्वेल बेकरले गत महिना एउटा ब्लगमा लेखिकी छन्। –बीबीसीबाट