काठमाण्डौ ।  नेपाली बैंकिङ्ग जगतमा मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्गमा खड्किएका समस्याहरुलाई समाधान गर्ने उद्देश्यका साथ बिगत पाँच वर्षदेखि अध्ययन तथा अनुसन्धान गरी निर्माण गरिएको ओम्नी च्यानल सोलुशन फास्ट बैंकिङ्ग सार्बजनिक गरिएको छ ।

बुधबार होटेल -याडिसनमा आयोजित एक कार्यक्रमका बीच फास्ट बैंकिङ्ग सेवा सार्बजनिक गरिएको हो।

राष्ट्र बैंकका पदाधिकारी, बैंक तथा बित्तीय संस्थाका प्रमुखकार्यकारी अधिकृत तथा डिजिटल बैंकिङ्ग र आइटी क्षेत्रसँग सम्बन्धित कर्मचारीहरु, भुक्तानी तथा फिनटेक जगतका प्रतिनिधिहरु तथा मिडिया कर्मीहरूको उल्लेख्य सहभागिता रहेको उक्त समारोहमा नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष तथा कृषि बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले एपको अनावरण गरी सुरुवात गरेका थिए । 

स्मार्ट चोइस टेक्नोलोजिजका  संचालक सान्तराज बतासको स्वागत मन्तब्यसँंगै कार्यक्रम सुरुवात गरिएको थियो।  स्मार्ट चोइस टेक्नोलोजिजको संक्षिप्त विवरणसँगै फास्ट बैंकिङ्गको बारेमा बिस्तृत जानकारी दिँदै कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकास भुजुले बैंक तथा बित्तीय संस्थाले  फास्ट बैंकिङ्गको सेवा लिई डिजिटल बैंकिङ्ग एक्सपिरियन्सलाई थप सुदृढ गर्दै नयाँ आयाम दिन सक्ने बताए।

हाल बैंक तथा बित्तीय संस्थाहरुमा प्रयोग भएको मोबाइल बैंकिङ्ग  सेवा बिशेष गरी भुक्तानी तथा फन्ड ट्रान्सफरमा मात्र केन्द्रित रहेकाले बैंकिङ्ग सुबिधा लिन अझै पनि बैंककै शाखामा नै धाउनु पर्ने बाध्यता रहेको परिस्थिति औल्याउँदै सो सोलुशनमा थप सुविधाहरुका साथ ओपन एपीआइमार्फत बैंकका थप सेवाहरुलाई मोबाइल बैंकिङ्गमै जोड्न सकिने जानकारी दिए । सो क्रममा फास्ट बैंकिङ्गले बैंकको शाखाहरुमा हुने ग्राहकहरुको उपस्थिति तथा म्यानुअल काम कटौती गरी ग्राहक र बैंक दुवैको समय र खर्च बृहत रुपमा घटाउन सकिने जानकारी समेत दिइएको थियो । 

टेक्नोलोजी पार्टनर स्विफ्ट टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत निरज ढुंगानाले फास्ट बैंकिङ्गको आन्तरिक संरचना तथा प्राबिधिक हिसाबले अहिले बजारमा उपलब्ध मोबाइल बैंकिङ्गभन्दा कसरी सुदृढ, स्केलेबल र सुरक्षित छ भन्ने बताएका थिए । 

हाल ग्लोबल आइएमइ बैंकमा संचालनमा ल्याइसकिएको यो सुबिधा कसरी फरक छ र यो सुबिधा संचालन गरे पश्चात बैंकका कर्मचारी तथा ग्राहकलाई भएको फाइदा र अनुभब बैंकका  ट्राञ्जेक्सन तथा कार्ड अपरेसन प्रमुख प्रकाश पौडेलले प्रकाश पारेका थिए । 

ग्लोबल आइएमइ बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा आइएमइका प्रबन्ध निर्देशक हेमराज ढकालले भबिष्यमा डिजिटल भुक्तानीको क्षेत्रमा अझै धेरै योगदान दिन तथा नविनतम सेवाहरु विस्तार गर्दै जान शुभकामना दिएका थिए । 

स्मार्ट चोइस टेक्नोलोजिजका अध्यक्ष सुमन प्रोख्रेलले अनबरत रुपमा सम्पूर्ण देशको भुक्तानी क्षेत्र प्रबद्र्धनमा लागिरहने प्रतिबद्धता व्यक्त गरेका थिए ।