काठमाण्डौ । अमेरिकी केन्द्रीय बैंक, फेडेरल रिजर्बले मंगलबार कोरोना भाइरसले धक्का दिएको अर्थतन्त्रलाई जोगाउने उद्देश्यले बेञ्चमार्क ब्याजदरमा अनपेक्षित कटौति गरेको छ । 

अनपेक्षित रुपमा भएको ब्याजदर यो कटौतिलाई फेडको ‘बोल्ड’ निर्णय भनिएको छ । 

फेडले गत वर्षपछिको यो नै पहिलो ब्याजदर कटौति गरेको हो । गत वर्ष फेडले ३ पटक ब्याजदर कटौति गरेको थियो । 

सिएनएनका अनुसार फेडेरल रिजर्बले गरेको यो निर्णय सन् २००८ को आर्थिक मन्दी पछाडिकै ठूलो ब्याजदर कटौति हो । यो कटौति नीतिगत समीक्षा बैठकको बीचमै भएको दुर्लभ कटौति पनि हो । 

सन् २००८ पछाडि एकैपटकमा धेरै ब्याज कटौति समेत यही रहेको बताइएको छ । फेडेरल रिजर्बले नयाँ ब्याजको बेञ्चमार्क १ देखि १.२५ प्रतिशत तोकेको छ । 

‘अमेरिकी अर्थतन्त्रको आधारभूत पक्षहरु बलिया नै छन् ।’ फेडले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘तर कोरोना भाइरसका कारण आर्थिक क्रियाकलाप जोखिममा पर्दै गएको देखिएको छ ।’ 

गत हप्ता मात्रै फेडका कतिपय अधिकारीहरुले विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना भाइरसकै त्रासले अमेरिकामा ब्याजदर कटौतिको निर्णय गरिहाल्नु धेरै हतारो हुने टिप्पणी गरेका थिए । तर, शुक्रबार अमेरिकी केन्द्रीय बैंक, फेडेरल रिजर्बका चेयरमेन जेरम पोवेलले एक विज्ञप्ति जारी गर्दै ब्याजदर कटौति हुनसक्ने संकेत गरेका थिए । जी सेभेनले पनि मंगलबार यस्तै म्यासेज बाहिर ल्याएको थियो । 

लगानीकर्ताहरुले ब्याजदर कटौतिको आकस्मिक निर्णयअघि केन्द्रीय बैंकहरुले आफूहरुसँग छलफल गर्ने आशा व्यक्त गरेका थिए । तर, वित्त बजारका लगानीकर्ताहरुले मार्च १८ मा हुने भनिएको फेड बैठकबाट आधा प्रतिशतमा ब्याजदर कटौतिको आशा भने गरेका थिए । तर, त्यसअघि नै मंगलबार कटौतिको आकस्मिक घोषणा गरियो । 

‘अमेरिकामा अहिलेको फाइनान्सियल मार्केट त्रास र समस्यामा छ । यही बेला कोरोना भाइरसले महामारीको रुप लिँदैछ । यस्तो अवस्थामा फेडको आकस्मिक बदलिएको मुटु स्वभाविक छ ।’ अमेरिकास्थित क्यापिटल इकोनोमिक्सका मुख्य अर्थशास्त्री पल एसवर्थले लेखेका छन् । 

तर, आकस्मिक ब्याजदर कटौतिले अमेरिकी अर्थतन्त्रमा सोचिएभन्दा पनि बढी जोखिम बढ्दै गएको संकेत गर्ने रिपोर्टमा उल्लेख छ । 

सोमबार मात्रै अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एण्ड डेभलपमेन्टले कोरोना प्रकोप यसैगरी फैलिरहेमा वैश्विक अर्थतन्त्रको वृद्धि दरमा अपेक्षा गरिएभन्दा आधाले गिरावट आउने चेतावनी दिएको थियो ।  

विश्वकै सबैभन्दा ठूला कम्पनीहरु(जस्तै माइक्रोसफ्ट, एप्पल)ले यसअघि नै नाफा र बिक्रीमा धक्का पुग्ने चेतावनी दिइसकेका छन् । उनीहरुको यसको कारणको रुपमा विश्वभर भ्रमणमा भएको प्रतिबन्ध, ठप्प भएका उद्योग र सप्लाई चेनमा आएको समस्यालाई प्रस्तुत गरेका छन् । 

अमेरिकी अर्थशास्त्रीहरु कोरोना भाइरसको प्रकोपले ग्राहकहरुको बानी कसरी परिवर्तन हुन्छ भन्ने कुरा चासोका साथ हेरिरहेका छन् । अमेरिकी अर्थतन्त्रका लागि ग्राहक(उपभोक्ता) ब्याकबोनको रुपमा रहेका रिपोर्टमा उल्लेख छ । 

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले फेडको रेट कटौतिलाई स्वागत गरेका छन् । उनले विगत लामो समयदेखि ब्याजदर कटौतिका लागि परामर्श गरिरहेका थिए । तर, उनले अवस्था थप बिग्रिएमा फेडले फेरि पनि ब्याजदर कटौति गर्नुपर्ने हुनसक्ने बताएका छन् । 

फेडको रेट कटको यो निर्णयसँगै अमेरिकी सेयर बजारमा उछाल आएको छ । यो निर्णयसँगै त्यहाँको बजार ७०० अंकले बढ्यो ।