काठमाण्डौ । अमेरिकाको केन्द्रीय बैंक फेडेरल रिर्जभ (फेड) ले अमेरिकाको बैंकिङ प्रणाली मजबुत रहेको जनाए पनि वार्षिक रुपमा गरिने ‘डड फ्रयांक स्ट्रिेस टेस्ट’ पश्चात नयाँ प्रतिबन्धहरु जारी गरेको छ। 

केन्द्रीय बैंकले सबै ठूला बैंकहरुलाई तेस्रो त्रैमासमा अनिवार्य रुपमा सेयर बाईब्याक गर्न रोक लगाउने भएको छ। यसका साथै देशमा संघर्षपूर्ण अवस्थामा रहेका व्यवसायहरुका लागि कर्जा प्रवाह सुनिश्चित गर्नका लागि वित्तीय संस्थाहरुलाई मजबुत अवस्थामा राख्न सेयरहोल्डरहको लाभांश वितरणलाई कटौती गर्ने भएको छ। 

दोस्रो त्रैमासमा भुक्तान गरिएको लाभांश राशिमा कटौती गरिनेछ र कम्पनीसँग पर्याप्त आम्दानी हुँदामात्रै लाभांश बढाइनेछ। यसका साथै सबै बैंकहरुले अनिवार्य रुपमा आफ्नो पुँजी योजनालाई पुनः मूल्यांकन गर्नुपर्नेछ। ‘अमेरिकाको बैंकिङ प्रणालीमा रहेको उच्चस्तरको पुँजीलाई बचाइराख्न आज बोर्डले उठाएका कदमहरुले ठूला बैंकहरुको मजबुत पक्षलाई र अहिले हामीले सामना गरिरहेको उच्च स्तरको अनिश्चिततालाई दुवैलाई स्वीकार गरेको छ’, फेडका उपाध्यक्ष र्यान्डल क्वारल्सले भने। 

कोरोना महामारीले निम्त्याएको मन्दीले कयौँ अमेरिकी व्यवसायहरुलाई कर्जा लिनुपर्ने अवस्थामा पुर्याएको छ। गत बुधबार सिनेटरहरुको एक समूहले फेडका अध्यक्ष जेरोमी पावेललाई चिठी लेख्दै केन्द्रीय बैंकले महामारीको मन्दी अवधिभर बैंकहरुलाई लाभांश वितरण बन्द गर्नु लाउनुपर्ने आग्रह गरेका थिए। उनीहरुले सेयरधनीलाई भुक्तानी गर्नुभन्दा बैंकहरुले सम्भावित घाटाबाट बच्न आफूहरुलाई मजबुत अवस्थामा राख्नुपर्ने बताएका थिए। 

बैंकहरुको लाभांश वितरणलाई कटौती गर्नुपर्ने विषयलाई समर्थन गर्दै फेडकी पूर्वअध्यक्ष ज्यानेट यलेनले गत अप्रिलमा बैंकहरुलाई लाभांश वितरणमा रोक लगाउने निर्णय पहिलो पटक नगरिएको बताएकी थिइन्। यसअघि पनि यस्ता निर्णयहरु ग्रिएकाले अहिलेको विषम परिस्थितिमा पनि यो आवश्यक रहेको उनले बताएकी थिइन्। 

आफ्नो नियमित स्ट्रेस टेस्टका अलावा फेडले तीनवटा भिन्नभिन्न मन्दीका बेला बैंकहरुको अवस्था कस्तो हुनेछ भनेर जनाएको छ। यसमा भी आकार, यू आकार, डब्ल्यू आकारका मन्दी र रिकभरीको अवस्था समावेश थियो। 

सबै तीनवटै परिस्थितिमा अमेरिकामा बेरोजगार दर १५.६ देखि १९.५ बीचमा रहने जनाइएको छ। यो दर कोरोनाको महामारी सुरु भएदेखि अहिलेसम्म देखिएको सबैभन्दा धेरै हो। अप्रिल महिनामा बेरोजगारी दर सबैभन्दा धेरै अर्थात १४.७ प्रतिशत देखिएको थियो। 

फेडका अनुसार यू र डब्ल्यू आकारको अवस्थामा अधिकांश बैंकहरुमा पुँजीको स्तर राम्रो रहनेछ। – एजेन्सी