काठमाण्डौ । अमेरिकाको केन्द्रीय बैंक फेडरल रिर्जभ (फेड) ले बोन्ड खरिद गर्ने ७५० वटा कम्पनीहरुको सूची सार्वजनिक गरेको छ।

सूचीमा एप्पल, वालमार्ट, एक्सनमोबिलजस्ता कम्पनीहरु समावेश छन्। कर्जाको लागत कम गर्न फेडले ती कम्पनीहरुको कर्पाेरेट बोन्ड खरिद गर्ने निर्णय गरेको छ। यसका लागि फेडले ८६ वटा कम्पनीहरुको कर्पाेरेट बोन्ड खरिद गरिसकेको छ। 

बोन्ड खरिदका लागि अहिलेसम्म ४२.९ करोड अमेरीकी डलर खर्च भइसकेको बैंकले जनाएको छ। बैंकले कर्पाेरेट बोन्ड खरिद गरेको कम्पनीको सूचीमा एटी एन्ड टी, वालग्रिन्स, माइक्रोसफ्ट, फिजर र म्याराथन पेट्रोलियम रहेका छन्। 

फेडले गत मार्च महिनामा आफ्नो इतिहासमा पहिलो पटक कर्पाेरेट बोन्ड खरिद गर्ने निर्णय गरेको थियो। कोरोना माहामारीका कारण अधिकांश लगानीकर्ताहरु डराएका कारण आफूसँग भएको सेयर बेचेर नगद जम्मा गर्नमा लागिपरेका कारण फेडले यस्तो निर्णय गरेको थियो। 

लगानीकर्ताहरुले नगद मौजाद बढाएकाले कयौँ प्रकारको ब्याजदरहरु बढेको छ र कम्पनीहरुका लागि बोन्ड जारी गर्न नयाँ कर्जा दिन लगभग असम्भवप्रायः बनेको छ। 

तथापि फेडले ७५० अर्ब डलरको कर्पाेरेट बोन्ड खरिद गर्ने निर्णय गरेपछि लगानीकर्ताले फेरि बोन्ड खरिद गर्न सुरु गरेका थिए। यसका कारण धेरै जसो कम्पनीहरुले ठूलो मात्रामा नया बोन्ड जारी गरेका छन्। 

हालै गरिएको एक अनुसन्धानका अनुसार फेडको कर्पाेरेट बोन्ड खरिद गर्ने निर्णयले मात्रै फेडले कर्पाेरेट बोन्ड बजारमा आफ्नो विश्वास पैदा गर्न सफल भएको छ। फेडले वित्तीय रुपमा सबल कम्पनीहरुको र महामारीपूर्व उच्च रेटिङ भएका कम्पनीहरुको मात्रै बोन्ड खरिद गर्ने जनाएको छ। 

प्रत्येक ३० दिनमा फेडले बोन्ड खरिदसम्बन्धी जानकारी प्रदान गर्नेछ। – एजेन्सी