नयाँदिल्ली । रिजर्भ बैंक अफ इण्डिया(आरबीआई)ले भारतीय बजारको सबैभन्दा ठूलो नोट दुईहजारमाथि पनि नोटबन्दी गर्ने योजना सार्वजनिक गरेको छ । 

अब आरबीआईले दुई हजारको नयाँ नोट छाप्दैन वा थप बजारमा ल्याउनेछैन । यद्यपि, यो कानूनी टेन्डर पैसाको रूपमा जारी रहनेछ। यसको मतलब यदि कसैसँग दुई हजार रुपैयाँको नोट छ भने त्यसको वैधता कायम रहनेछ। 

आरबीआईले एक प्रेस विज्ञप्ति जारी गर्दै यसको पुष्टि गरेको हो। 

भारतीय रिजर्व बैंकले आफ्नो निर्णयमा क्लिन नोट नीतिअन्तर्गत नोट फिर्ता गरिएको तर्क गरेको छ । सन् २०१६ मा प्रधानमन्त्री मोदीले नोटबन्दीको घोषणा गरेपछि दुई हजार रुपैयाँको नयाँ नोट बजारमा आएको थियो ।

आरबीआईका अनुसार मे २३, २०२३ देखि एक पटकमा अधिकतम २०,००० रुपैयाँसम्मका नोट साट्न सकिनेछ। बैंकको अन्य काम प्रभावित नहोस् भनेर यो निर्णय गरिएको आरबीआईले जनाएको छ । आरबीआईका अनुसार मार्च २०१७ अघि जारी गरिएका दुई हजार रुपैयाँका नोटमध्ये ८९ प्रतिशतभन्दा बढीले आफ्नो जीवन चारदेखि पाँच वर्ष पूरा गरिसकेका छन्। मार्च ३१, २०१८ सम्म, ६.७३ लाख करोड रुपैयाँको २००० नोटहरू चलनमा थिए। मे ३१, २०२३ सम्म ३.६२ लाख करोडको मात्र दुई हजार रुपैयाँको नोट चलनमा छ, जुन कुल नोटको सर्कुलेशनको १०.८ प्रतिशत मात्र हो।

आरबीआईले बैंकहरुलाई २ जारको नोट जारी नगर्न सल्लाह दिएको छ । आरबीआईले बैंकहरुलाई पत्र लेखेर अब बैंक वा उक्त बैंकको एटिएमले एटीएम वा नगद झिक्न सर्वसाधारणलाई दुई हजार रुपैयाँका नोट नदिने आदेश दिएको छ । यसका लागि आरबीआईले बैंकहरूलाई एटीएम र रिसाइकल पुनः कन्फिगर गर्न आदेश दिएको छ। यसका साथै बैंक नभएका ग्रामीण, दुर्गम क्षेत्रमा बैंकले आवश्यक परे मोबाइल भ्यानको सहायताले नोट साट्न सघाउन पनि बैंकहरुलाई निर्देशन दिएको छ ।

आरबीआईले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘दुई हजार रुपैयाँको नोट कारोबारमा खासै प्रयोग नभएको पनि देखिएको छ । योसँगै जनताको नगद आवश्यकता पूरा गर्न एक सय, २०० र ५ सय दरका नोटको पर्याप्त भण्डार छ । आरबीआईका अनुसार १ सय, २ सय र ५ सय दरका नोट पर्याप्त मात्रामा आएपछि २ हजार दरका नोट ल्याउनुको उद्देश्य पूरा भएको हो । सन् २०१८ १९ मा दुई हजार रुपैयाँको नोट छाप्ने काम रोकिएको थियो ।