काठमाण्डौ । फातिमा अख्तर जब मार्चको अन्तिममा बंगलादेशको राजधानी ढाकास्थित अलिफ क्याजुअल वेयर गार्मेन्ट उद्योगमा काम गर्न पुगिन् त उनलाई थाहा थिएन त्यो उनको अन्तिम दिन हुनेछ। २५ वर्षीय अख्तरले भने, ‘मेरो बोसले मलाई अब काममा नआउन भने।’
अख्तर ५ वर्षदेखि उक्त गार्मेन्ट उद्योगमा कार्यरत थिए। उनलाई भनिएको अब गार्मेन्ट बन्द गर्ने निर्णय भएको छ।
यो निर्णयसँगै अख्तर छाँगाबाट खसेजस्तै भए। किनकि यहीँको कमाईबाट उनको परिवारको गुजारा चल्थ्यो।
अख्तर त एक उदाहरण पात्रमा हुन्। बंगलादेशमा गार्मेन्ट उद्योगहरुमा कार्यरत उनीजस्ता लाखौँ कामदार अहिले प्रभावित छन्।
विश्व महामारी कोरोनाभाइरसबाट उत्पन्न परिस्थितिका कारण बंगलादेशका गार्मेन्ट उद्योगमा कार्यरत लाखौँ कामदार अहिले बेरोजगार बनेका छन्। बंगलादेश गार्मेन्ट म्यान्युफ्याक्चरर्स एन्ड एक्सपोर्टर्स एसोसिएसन) का अनुसार यस्ता गार्मेन्टमा ४१ लाखभन्दा बढी मानिस कार्यरत थिए। यो भाइरसका कारण उद्योग धरासायी बनेपछि अधिकांश गार्मेन्ट उद्योगहरुले आधाभन्दा बढी कर्मचारीलाई जागिरबाट निकालेका छन्।
बंगलादेशका गार्मेन्ट उद्योगमा कार्यरत अधिकांश कामदारले औसतमा मासिक ११० डलर अर्थात १३ हजार ५०० रुपैयाँको हाराहारीमा तलब पाउँछन्।
एसोसिसनका अनुसार अन्तर्राष्ट्रिय ब्रान्डहरुले बंगलादेशका गार्मेन्टहरुबाट करिब ३.१७ अर्ब डलरको अर्डर रद्द गरेका छन्। यसरी एकाएक अन्तर्राष्ट्रिय ब्रान्डहरुले अर्डर रद्द गर्दा पनि बंगलादेशी सरकार मुकदर्शक बनेको पीडित कामदारहरुको आरोप छ। त्यसो अन्तर्राष्ट्रिय ब्रान्डहरुलाई दिइएको अर्डर रद्द गर्दा हुने जरिवानाका विषयमा त्यहाँको कानुनमा कुनै उल्लेख छ।
सीएनएनका अनुसार बंगलादेशको निर्यातमा ८० प्रतिशत हिस्सा यस्ता गार्मेन्ट उद्योगको योगदान रहेको छ। बंगलादेशको एक्सपोर्ट प्रमोसन ब्युरोका अनुसार त्यहाँका गार्मेन्ट उद्योगले गत वर्ष ३० अर्ब डलरभन्दा बढीको गार्मेन्ट प्रडक्ट निर्यात गरेको थियो।
चीनपछि विश्वमा गार्मेन्ट प्रडक्ट निर्यात गर्ने बंगलादेश दोस्रो ठूलो देश पनि हो। गार्मेन्ट उद्योगले बंगलादेशको कुल जीडीपीमा १६ प्रतिशत योगदान गर्दै आएको छ।
बंगलादेशको वाणिज्य मन्त्रालयका अनुसार त्यहाँ गार्मेन्ट उद्योगबाट करिब १.५ करोड मानिस प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा रोजगार पाइरहेका छन्। जसमा फुड सेलर्स, ट्रक चालक र बन्दरगाहमा काम गर्नेहरु पनि समावेश छन्। वाणिज्यमन्त्री टिपु मुन्सी भन्छन्, ‘अहिले अवस्था निकै गम्भीर बनेको छ, लाखौँ मानिसको रोजगारी संकटमा परेको छ।’
पेन स्टेट युनिभर्सिटीको सेन्टर फर ग्लोबल वर्कर्स राइट्सले ताजा स्थितिमा बंगलादेशका ३१६ आपूर्तिकर्ताहरुसँग कुराकानी गरेको थियो। तीमध्ये आधाभन्दा बढी आपूर्तिकर्ताहरुले कोरोना महामारी सुरु भएपछि अधिकत्तर अर्डर रद्द भएको बताए। अधिकांश अर्डर युरोपेली र अमेरिकी ब्रान्डका थिए। अधिकांश अर्डर रद्द गर्ने कम्पनीहरुले मुआब्जामा कुनै किसिमको योगदान गर्न नसकिने भन्दै पन्छिएको वर्कर्स राइट्सले जनाएको छ। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago