काठमाण्डौ । गत आर्थिक वर्षको नाफाबाट ३२ प्रतिशत बोनस सेयर पाएका नेपाल बंगलादेश(एनबी) बंैकका लगानीकर्ता मालामाल हुने भएका छन् । 

उनीहरुले अब केही समयपछि नै ८० प्रतिशत हकप्रद भर्न पाउने भएका हुन् । 
नेपाल धितोपत्र बोर्डले नेपाल बंगलादेश बैंकलाई १० बराबर ८ को अनुपात अर्थात ८० प्रतिशत हकप्रद निश्कासनको स्वीकृति दिएको छ । 

यो स्वीकृतिसँगै अब एनबी बैंकले १ सय रुपैयाँ अंकित मूल्यको कुल ३ करोड २० लाख ९४ हजार ६८ कित्ता हकप्रद निश्कासन गर्नेछ । यो प्रक्रियाबाट बैंकको चुक्तापूँजीमा ३ अर्ब बढी रकम थपिनेछ । 

यो बैंकको हकप्रद निश्कासन तथा व्यवस्थापनमा ग्लोबल आइएमई क्यापिटल लिमीटेडले बिक्री प्रबन्धकको काम गर्नेछ । 

नेपाल बंगलादेश बैंकले चालुु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ५४ करोड ६ लाख रुपैयाँ खूद नाफा आर्जन गरेको छ । यो बैंकले आफ्ना लगानीकर्तालाई आर्थिक वर्ष २०७२/७३ को खूद नाफाबाट ३२ प्रतिशत बोनस सेयर वितरण गर्नेछ । ३२ प्रतिशत बोनस सेयर वितरणपछि एनबी बैंकको चुक्तापूँजी ४ अर्ब १ करोड पुुग्नेछ। त्यसपछि जारी हुने ८० प्रतिशत हकप्रदपछि चुक्तापूँजी ७ अर्ब २१ करोड भन्दा माथिको उचाईमा पुुग्नेछ । 

त्यसपछि बोनस सेयर दिएरै पनि यो बैंकले सुविधाजनक ढंगले नेपाल राष्ट्रबैंकले तोकेको ८ अर्ब चुक्तापूँजी पुर्याउने देखिन्छ । 

एनबी बैंकको मंगलबारको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ६ सय ८ रुपैयाँ रहेको छ । सेयरधनीले १ सय रुपैयाँमा यो मूल्यको सेयर किन्न पाउनेछन् ।