काठमाण्डौ । बंगलादेशबाट नेपालसम्म बस चलाउने तयारी भएको छ ।
जसअन्तरगत राजधानी ढाकाबाट काठमाण्डौसम्म बस सेवा सञ्चालन गरिने छ।
बंगलादेश-भुटान-भारत–नेपाल चारै देशका राजधानीलाई जोड्ने प्रस्तावित सडकमार्ग अन्तरगत बस सेवा सञ्चालन गर्न लागिएको हो। बंगलादेश रोड ट्रान्सफोर्ट कर्पोरेसन (बीआरटीसी) ले बसको यात्रा सस्तो हुने भएकाले नेपाल र भारतमा चारवटा नयाँ अन्तरराष्ट्रिय रुटको बस सेवा सञ्चालन गर्ने तयारी गरेको बताएको छ ।
नेपाल तथा भारतमा धेरै मानिसहरू बसमा यात्रा गर्न इच्छुक देखिएकाले यस्तो योजना बनाइएको डेली सनले समाचार छापेको छ ।
सन् २०१५ को जुन १५ मा नेपाल, भारत, बंगलादेश र भुटान चारै देशले सीमापार यातायात सम्झौतामा भुटानको राजधानी थिम्पुमा हस्ताक्षर गरेका थिए। तर हालसम्म भुटानको संसदले भने सो सम्झौतालाई अनुमोदन गरेको छैन।
यो योजना बंगलादेश, भारत र नेपालबीच सञ्चालन हुने बंगलादेशको यातायात विभागले बताएको छ । भारत र बंगलादेशले यसअघि नै यातायात सेवा परीक्षण गरि सेवा सूचारु गरिसकेका छन्।
बीआरटी सम्बद्ध अधिकारीहरूका अनुसार चार वटा नयाँ रुटहरूमा चट्टोग्राम–कोलकाता, ढाका–गान्टोक (सिक्किम), बारिसाल–कोलकाता र ढाका–नेपाल रहेका छन् । डेली सनका अनुसार बीआरटीसीले सन् २०१८ मा नै ढाका–नेपाल रुटबारे सर्वेक्षण गरेको थियो । दुईवटा बसमा ८० जना प्रतिनिधि बोकेर परीक्षण यात्रा गरिएको थियो । तर, यसको सुरुवात भने हुन सकेको थिएन ।
त्यस्तै, चट्टोग्राम–कोलकाता रुट व्यावसायिक रूपमा सफल हुने सर्वेक्षणमा पाइएको छ । यसका लागि बीआरटीसीले रोर्ड ट्रान्सपोर्ट र ब्रिजेज मन्त्रालयलाई प्रस्ताव पठाइसकेको छ । त्यहाँबाट उक्त प्रस्ताव अन्तिम निर्णयका लागि विदेश मन्त्रालय पुगिसकेको छ ।
ढाका–गान्टोक–दार्जिलिङ रुटका लागि पनि सन् २०१९ मा नै सर्वेक्षण र परीक्षण यात्रा सम्पन्न भइसकेको छ । यसका लागि दुवै देशको सहमति पर्खाइमा छ । बारिसाल–कोलकाता रुटमा भने खासै प्रगति हुन सकेको छैन ।
‘ढाका–नेपाल बस रुटमा कुरा धेरै अघि बढेको छ । तर, यसका लागि केही समय लाग्नसक्छ । किनभने यहाँ तीनवटा देश संलग्न हुन्छन्,’ बीआरटीसीका अध्यक्ष एमडी ताजुल इस्लामले भनेका छन्, ‘यहाँ भूराजनीतिक स्वार्थ पनि जोडिएको छ ।’
‘नेपालमा युएस बंगला विमान दुर्घटनापछि यो योजना कार्यान्यन पछि धकेलिन पुगेको थियो । नेपाल भ्रमण गर्न चाहने बंगलादेशीहरु धेरै छन्। हवाइमार्गको विकल्प दिए उनीहरु नेपाल घुम्नेछन्,’ त्यहाँका एक यातायात व्यवसायीले भनेका छन्। यो सम्झौता पूर्ण रुपमा लागू भए चार देशको सीमाना छिचोल्न वाहन फेर्नुपर्ने छैन।
बंगलादेशले सन् १९९९ मा पहिलोपटक ढाका–कोलकाताको अन्तरराष्ट्रिय बस सेवा सुरु गरेको थियो । हाल ढाका–कोलाकातासहित अगरताला–ढाका, ढाका–सिलोङ–गुवाहाटी र ढाका–खुल्ना–कोलाकता गरी चारवटा अन्तरराष्ट्रिय रुटहरू रहेका छन् । -एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19