काठमाण्डौ । देशका २८ वटा वाणिज्य बैंकका सीइओहरुबीच बचत खाताको ब्याजदर र मुद्धती निक्षेपको ब्याजदरबीचको अन्तर साँघुरिँदै गएको उल्लेख गर्दै त्यसलाई बढाउनुपर्ने सहमति भएको छ । 

बैठकले बचत खाता र मुद्धती निक्षेपका लागि ब्याजदरको स्पष्ट सीमा नतोकी दुुई खाताबीचको ब्याजदर अन्तर बढाउने सहमति गरेको हो । 

‘हामीले बचत र मुद्धतीमा यति नै ब्याज दिनुपर्छ वा यति भन्दा बढ्नुुहुँदैन भन्ने कुनै सहमति गरेका छैनौ ।’ नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बिजशालासँग भने–‘अन्तर थोरै राख्नुुभएन भन्ने हो, स्वभाविक बैकिङ गर्नुपर्छ भन्ने कुरामा हामीले जोड दिएका हौ ।’

उनका अनुसार कसैले बचतमा धेरै ब्याज दिएको भए घटाउँदा हुने र कसैले कम दिएको भए बढाउँदा हुने सहमति भएको हो । ‘पछिल्लो समय केही बैंकको मुद्धती र निक्षेपको ब्याजदरको अन्तर १ प्रतिशतसम्म देखिएको छ, यो स्वभाविक रेट होइन ।’ ढुंगानाले भने–‘स्वभाविक रुपमा बजारले ब्याजदर निर्धारण गर्दै गयो भने हामी हस्तक्षेप गर्दैनौ, अस्वभाविक देखिए चूप लागेर बस्दैनौ । शुक्रबारको बैठकले अस्वभाविक बजारलाई स्वभाविक बनाउन मात्र खोजेको हो ।’

उनले कुनै पनि बैंकलाई समय तोकेरै ब्याजदर घटाउन नभनिएको स्पष्ट पार्दै थपे–‘ उदाहरणका लागि कसैले बचतमा १० प्रतिशत दिएर मुद्धतीमा १३ प्रतिशत दिन्छुु भने पनि पाउँछ । तर, उसले मुद्धतीमा १३ प्रतिशत ब्याज दिएर लगानी कतिमा गर्ला भन्ने कुरा पनि पक्कै सोच्ला नै ।’

ढुंगानाको भनाईमा १० प्रतिशत बचतमा ब्याज दिइरहेकाहरुले घटाउनैपर्ने बाध्यता छैन । त्यस्ता बैंकहरुले मुद्धती निक्षेपमा दिइरहेको ब्याज आफूअनुकुल बढाएर समेत ब्याजदर अन्तर बढाउन पाउनेछन् । 

केही वाणिज्य बैंकहरुले बचत खातामा १० प्रतिशतसम्म र मुद्धतीमा ११ प्रतिशत मात्रै ब्याज दिन थालेपछि पैसा एकातिर मात्र थुप्रिएर कतिपय बैंकहरुको सीसीडी अनुपात बिग्रन थालेको र यो अभ्यास अस्वभाविक रहेको भन्दै एनबिएले गम्भीर बनिदिन सबै बैंकहरुलाई आग्रह पनि गरेको छ। 

बचतमै केही बैंकले १० प्रतिशतसम्म ब्याज अफर गरेपछि त्यहाँ निक्षेप थुप्रिन थालेको थियो । समग्र निक्षेप नबढेको अवस्थामा धेरै ब्याज दिने होडबाजीले बैंकहरुबीच फेरि निक्षेप तानातानको अवस्था हुने र यसले समग्र प्रणाली नै अस्थिर बनाइदिने भन्दै एनबिएले गम्भीर बनिदिन आग्रह गरेको छ ।