काठमाण्डौ । नेपाल बैंकर्स संघ(एनबीए)ले साधारण बचत र कल निक्षेपको ब्याजदर ०.४२ को विन्दूले घटाउने निर्णय गरेको छ । 

एनबीएमा केहीबेरअघि बसेको वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा प्रतिनिधिहरुको बैठकले ऋणको ब्याजदर घटाएर जानुपर्ने अवस्थाको विश्लेषण गर्दै त्यसकै आधार तयार पार्नका लागि बचत र कल निक्षेपको ब्याजदर ०.४२ प्रतिशतले घटाउने निर्णय गरेको हो । 

एनबीएका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीका अनुसार मुद्दति निक्षेपको ब्याजदर भने यथावत राखिएको छ । 

उनका अनुसार चैत १ गतेदेखि लागू हुने गरी बचतको ब्याजदर ६ देखि ८ प्रतिशत कायम गरिएको छ । हाल ६.४२ देखि ८.४२ प्रतिशतसम्म रहेको थियो । 

हाल कुल निक्षेपमा बचत र कल निक्षेपको हिस्सा ३६ प्रतिशत छ। बचत र कल निक्षेपको ब्याजदर घट्नेबित्तिकै बैंकहरुको खर्च घटी आधार दर समेत घट्ने र यसले ऋणको ब्याजदर सस्तिने विश्लेषण गर्दै यस्तो निर्णय गरिएको केसीले जानकारी दिए । 

यसैगरी, एनबीएको बैठकले ऋणको प्रिमियम पनि घाउने निर्णय गरेको छ । अब वाणिज्य बैंकहरुले आधार दरमा अधिकतम ५ प्रतिशत मात्र प्रिमियम लिन पाउनेछन् । हाल आधारदरमा ६ प्रतिशतसम्म प्रिमियम लिन पाइने व्यवस्था कार्यान्वयनमा थियो । 

अध्यक्ष केसीले प्रिमियम घटाउने निर्णय तत्काल लागू हुने र यसले साना ऋणिहरुलाई तत्काल राहात हुने दाबी गरे  । 

एनबीएले यसअघि गत माघमा मुद्दति निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको थियो । पछिल्लो महिना निक्षेपको ब्याजदर घटिरहेको भए पनि कर्जाको ब्याजदरमा भने त्यसको प्रभाव देखिएको छैन । बैंकहरुले आधार दरको गणना त्रैमासिक हिसाबले गर्ने भएकोले बैशाख १ गतेदेखि लागू हुने गरी नयाँ आधार दर तय हुने र एनबीएको पछिल्ला निर्णयहरुले त्यो घट्न गई ऋणको ब्याजदर पनि राम्रै ढंगले घट्ने बैंकरहरुको विश्लेषण छ । बैंकरहरुले सबै कुरा ठीकठाक रहे बैशाखदेखि ऋणको ब्याजदर अधिकतम २ प्रतिशतसम्म घट्नसक्ने अनुमान गरेका छन् ।