काठमाण्डौ । दोश्रो बजारमा महंगो मूल्यका कारण सेयर खरीद गर्न नपाएका, सार्वजनिक निश्कासनहरुमा अभागी ठहरिएका लगानीकर्ताहरुका लागि अहिले बोलकबोलमार्फत सेयर सस्तोमै खरीद गर्ने निकै धेरै अवसरहरु आएका छन् ।

पुँजी वृद्धिको चटारोसँगै अधिकांश बैंक तथा बित्तीय संस्थाहरुले हकप्रदको बाटो रोजेका छन् । तर, निश्कासित हकप्रद सबै बिक्री भइरहेको छैन । हकप्रद प्रति कित्ता १ सय रुपैयाँमा पाए पनि सबै सेयरधनीसँग पैसा नहुँदा र कतिपय सेयरधनीहरुलाई हकप्रद भर्ने सूचना नै नपुग्दा समेत बैंक तथा बित्तीय संस्थाहरुले बिक्रीका लागि निश्कासित हकप्रदमध्ये धेरै हकप्रद बिक्री भएको छैन । यहीकारण समेत सर्वसाधारण लगानीकर्ताका अवसरका थुप्रै ढोकाहरु खुलेका हुन् । बुद्धिमता अनपाएर बोलकबोलमार्फत सेयर खरीद गर्ने हो भने त्यसबाट लगानीकर्ता मालामाल मात्र हुने छैनन् बाठाले महंगो सेयर समेत सस्तोमै हात पार्ने शौभाग्य प्राप्त गरेका छन् ।

पछिल्लो समय बजारमा करिब आधा दर्जन बैंक तथा बित्तीय संस्थाको हकप्रद लिलामीमार्फत बिक्रीको प्रक्रिया अगाडि बढेको छ । यीमध्ये केहीको लिलामीमा आवेदन दिने समय सुरु भइसकेको छ भने केहीको केही समयपछि आवेदन खुल्दैछ । हेरौं कुन कम्पनीको सेयर बोलकबोलमार्फत खरीदको कस्तो अवसर छ:

प्रभूमा यस्तो अवसर
प्रतिकित्ता १ हजार रुपैयाँ भन्दा बढीमा कारोबार भइरहेको प्रभूू इन्स्योरेन्सको सेयर बोलकबोलमार्फत खरीद गर्न पाइने भएको छ । यो बिमा कम्पनीले बिक्री नभएको ४८ हजार १ सय २२.८१ कित्ता सेयर जेठ ३१ गते(भोलि)देखि लिलामीमा राखेको हो ।

गत चैत ३० गतेदेखि यो कम्पनीले २ बराबर १ को अनुपातमा कुल १९ लाख २५ हजार ७८ कित्ता हकप्रद सेयरधनीका लागि निश्कासन गरेको थियो । तर, संस्थापकतर्फ ५ हजार ३ सय ३४.४९ कित्ता र सर्वसाधारण समूहतर्फको ४२ हजार ७ सय ८८.३२ कित्ता बिक्री भएको थिएन । बिक्री नभएको त्यही सेयर बोलकबोलमार्फत बिक्री गर्ने उद्देश्यले लिलामीमा राखिएको हो ।

लिलामीमा सहभागी हुन चाहनेले जेठ ३१ गतेदेखि असार ७ गतेसम्म आवेदन दिइसक्नुुपर्नेछ । असार ८ गते लिलामीको अन्तिम नतिजा प्रकाशन हुने बिक्री प्रबन्धकको काम गरिरहेको प्रभूू क्यापिटलले जनाएको छ । यो बिमा कम्पनीको सोमबारको प्रति कित्ता सेयर कारोबार मूल्य १ हजार ७० रुपैयाँ रहेको छ ।

१२ सयको सेयर सस्तोमै उठाउने अवसर
प्रति कित्ता १ हजार २ सय भन्दा बढीमा कारोबार भएको नेरुडे लघुवित्त विकास बैंकको सेयर सस्तोमै किन्ने अवसर खुलेको छ। यो बैंकले बिक्री नभएका १ लाख ८ हजार ७ सय ३६ कित्ता हकप्रद आगामी असार १३ गतेदेखि लिलामीबाट बिक्री गर्ने भएको हो ।

यो माइक्रो फाइनान्स जारी गरेको एक सूचना अनुसार बिक्री नभएका ९३ हजार ९ सय ७७ संस्थापक सेयर र १४ हजार ७ सय ५९ कित्ता साधारण गरी कुल १ लाख ८ हजार ७ सय ३६ कित्ता सेयर लिलामीबाट बिक्री गरिने स्पष्ट पारेको छ  । यो माइक्रो फाइनान्स कम्पनीले २०७३ चैत १४ गतेदेखि २ बराबर १ को अनुपातमा हकप्रद सेयर बिक्रीका लागि निश्कासन गरेको थियो । तर, निश्कासित सेयर सबै बिक्री भएन ।

असार १३ गतेदेखि खुल्ने लिलामीको प्रक्रियामा असार २० गतेसम्म सहभागी हुन सकिनेछ । लिलामीको अन्तिम नतिजा असार २१ गते प्रकाशन हुने बताइएको छ । लिलामीमा सहभागी हुन चाहनेले न्यूूनतम १ सय रुपैयाँ प्रतिकित्ता मूल्य र बढीमा अवस्था हेरेर मूल्य बोल गर्नुपर्नेछ र न्यूनतम १ सय कित्ताका लागि आवेदन दिनैपर्नेछ ।

यो कम्पनीको बिक्री नभएको सेयर लिलामीको प्रक्रियामा सनराइज क्यापिटल लिमीटेडले बिक्री प्रबन्धकको काम गर्नेछ । इच्छुक लगानीकर्ताले काठमाण्डौको कमलपोखरीस्थित सनराइज क्यापिटलको मुुख्य कार्यालयमा गएर लिलामीका लागि बिड गर्न सक्नेछन् । नेरुडे लघुवित्त विकास बैंकको सोमबारको अन्तिम कारोबार मूल्य प्रति कित्ता १ हजार २ सय ८५ रुपैयाँ रहेको छ ।

सिटिजन्समा पनि अवसर
सिटिजन्स बैंक इन्टरनेशनलले बिक्री नभएको ६ लाख १९ हजार ८ सय ३ कित्ता हकप्रद बोलकबोलबाट बिक्री गर्ने भएको छ । यो बैंकले एक सूचना प्रकाशित गर्दै आगामी असार १५ गतेदेखि बिक्री नभएको सेयरको लिलामी प्रक्रियामा आवेदन दिनसकिने बताएको हो ।

यो बैंकले गत चैत २४ गते १० बराबर २.५ को अनुपातमा हकप्रद सेयरको निश्कासन गरेको थियो । सोमध्ये साधारणतर्फ ४ लाख २० हजार ४ सय ९० र संस्थागततर्फ १ लाख ९९ हजार ३ सय १३ कित्ता हकप्रद बिक्री भएको थिएन । त्यही सेयर बोलकबोलबाट बिक्री गर्ने भएको हो । लिलामीमा असार २१ गतेसम्म आवेदन दिन सकिने बताइएको छ । लिलामीको अन्तिम नतिजा आगामी असार २२ गते प्रकाशन गरिने बैंकले जनाएको छ ।

बोलकबोल प्रक्रियामा सहभागी हुन चाहनेले प्रतिकित्ताको मूल्य न्यूनतम १ सय रुपैयाँ उल्लेख गर्नुपर्नेछ भने न्यूनतम १ सय कित्ताका लागि आवेदन दिनैपर्नेछ । सानिमा क्यापिटल लिमीटेडले यो बैंकको हकप्रद लिलामी प्रक्रियामा बिक्री प्रबन्धकको काम गर्नेछ । काठमाण्डौको नक्सालस्थित सानिमा क्यापिटलको मुख्य कार्यालयमा गएर इच्छुकले बोलकबोल प्रक्रियामा सहभागिता जनाउन सक्नेछन् । यो बैंकको अन्तिम सेयर कारोबार मूल्य प्रतिकित्ता ३ सय ८८ रुपैयाँ रहेको छ । सिटिजन्स बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ८७ करोड १५ लाख खूद नाफा आर्जन गरेको छ ।

१४०० बढीको सेयर पनि लिलामीमा
प्रतिकित्ता १४०० भन्दा बढी मूल्यमा कारोबार भइरहेको डिप्रोक्स लघुवित्त विकास बैंक लिमीटेडको सेयर सस्तैमा पाउने अवसर खुलेको छ । यो लघुवित्त विकास बैंकले बिक्री नभएको १५ हजार ९ सय ६९ कित्ता साधारण सेयर लिलामीबाट बिक्री गर्ने भएको हो ।  यो माइक्रो फाइनान्स कम्पनीले आइतबार एक सूचना प्रकाशित गरी चैत ७ गतेदेखि निश्कासित १ बराबर १ को दरको हकप्रदमध्ये बिक्री नभएको साधारण सेयर लिलामीमा राखेको हो ।

आगामी असार ४ गतेदेखि लिलामीमा सहभागी हुन चाहनेले बिड गर्नुपर्ने र असार ११ गतेसम्म आवेदन दिन सकिने बताइएको छ । लिलामीको अन्तिम नतिजा असार १३ गते दिउँसो ३ बजे प्रकाशन गरिने बैंकले जनाएको छ । लिलामीमा सहभागी हुन चाहनेले प्रतिकित्ताको मूल्य न्यूनतम १ सय रुपैयाँ राख्नुुपर्ने र न्यूनतम १ सय कित्तादेखि अधिकतम १५ हजार ९ सय ६९ कित्ताकै लागि समेत बिड गर्नसक्ने बताइएको छ। नबील इन्भेष्टमेन्ट बैकिङ लिमीटेडले डिप्रोक्सको सेयर लिलामीमा बिक्री प्रबन्धकको काम गर्नेछ ।

काठमाण्डौको नक्सालस्थित बिक्री प्रबन्धकको कार्यालयमा गएर इच्छुक सेयरधनीले लिलामीको प्रस्ताव पेश गर्नसक्ने छन् । यो लघुवित्त विकास बैंकको गत बिहीबारको अन्तिम कारोबार मूल्य प्रतिकित्ता १४४४ रुपैयाँ रहेको छ । यो लघुवित्त विकास बैंकले चालुु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म २० करोड ८५ लाख रुपैयाँ खूद नाफा आर्जन गरेको छ ।

टुरिजम र देवमा पनि अवसर
दुुई विकास बैंकको सेयर सस्तोमै उठाउने हो ? हो भने तपाईले बुद्धिमता प्रयोग गरी उनीहरुले निकालेको लिलामी प्रक्रियामा सहभागी हुन सक्नुुभयो भने ती बैंकका सेयर सस्तोमै प्राप्त गर्न सकिन्छ । टुरिजम डेभलपमेन्ट बैंक र देवः विकास बैंक लिमीटेडले बिक्री नभएका सेयर लिलामीबाट बिक्री गर्ने सूचना निकालेका हुन् ।

टुरिजम डेभलपमेन्ट बैंक लिमीटेडले आगामी असार ७ गतेदेखि बिक्री नभएको सेयर लिलामीमा निकाल्ने भएको हो । यो बैंकले ४ लाख ३८ हजार २ सय कित्ता संस्थापक सेयर र २ लाख ६६ हजार ५ सय ३७ कित्ता साधारण सेयर लिलामीमा राखेको हो । यो विकास बैंकले गत चैत १३ गते १ बराबर १ को अनुपातमा हकप्रद निश्कासन गरेको थियो । त्यहीबेला निश्कासितमध्ये बिक्री नभएको सेयर अहिले लिलामीबाट बिक्री गर्न लागिएको हो ।

यो बैंकको लिलामीमा सहभागी हुन चाहनेले न्यूनतम १ सय रुपैयाँ मूल्यको बोल लगाउनुपर्नेछ । लिलामीका लागि असार १५ गतेसम्म सहभागी हुनुपर्ने र यसको अन्तिम नतिजा असार १७ गते सार्वजनिक हुने बताइएको छ । एनआइबिएल क्यापिटल मार्केट लिमीटेडले बिक्री प्रबन्धकको काम गर्नेछ । यसको अर्थ एनआइबिएलको लाजिम्पाटस्थित मुख्य कार्यालयमा गएर लिलामी प्रक्रियामा सहभागी हुन सकिनेछ । यो बैंकको अन्तिम सेयर कारोबार मूूल्य प्रतिकित्ता ४ सय २७ रुपैयाँ रहेको छ ।

यसैबीच, देवः विकास बैंकले पहिलोपटक लिलामीबाट बिक्री गर्न खोज्दा समेत नबिकेको ३ लाख ५६ हजार २ सय ९७ कित्ता सेयर बिक्रीका लागि पुनः लिलामीको सूचना निकालेको छ । यो पटक लिलामीबाट बिक्री गर्न खोजिएको सेयर सबै संस्थापक हुन् । यो बंैकले पहिलोपटक बैशाख २८ गते २ लाख ३४ हजार ३ सय १८ कित्ता साधारण र ३ लाख ८३ हजार २ सय ९७ कित्ता संस्थापक सेयर लिलामीमा निकालेको थियो । साधारण सेयर सबै लिलामीबाट बिक्री भए पनि संस्थापक सेयर भने २७ हजार कित्ता मात्र बिक्री भयो । यसकारण, बाँकी बिक्री भएको संस्थापक सेयर पुनः बिक्रीका लागि लिलामीमा राखिएको हो ।

देव विकास बैंकले आइतबार(आज)देखि लिलामीमा निकालेको यो सेयरमा आगामी असार १ गतेसम्म आवेदन दिनसकिनेछ । असार २ गते लिलामीको अन्तिम नतिजा प्रकाशन हुनेछ । इच्छुक लगानीकर्ताले न्यूनतम प्रतिकित्ताका लागि १ सय रुपैयाँ मूल्य लगाउनुपर्नेछ भने न्यूनतम १ सय कित्ताका लागि आवेदन दिनैपर्नेछ । यो बैंकको सेयर लिलामीका लागि एनआइबिएल क्यापिटल मार्केट लिमीटेडले बिक्री प्रबन्धकको काम गर्नेछ । बिक्री प्रबन्धकको लाजिम्पाटस्थित मुख्य कार्यालयमा गएर लिलामीको प्रक्रियामा सहभागी हुन सकिने बताइएको छ । यो बैंकको सेयरको अन्तिम कारोबार मूल्य प्रतिकित्ता १ सय ८१ रुपैयाँ रहेको छ ।

असार १ देखि एनआइसी एशियामा अवसर
पछिल्लो समय राम्रै बैंकको परिचय बनाएको एनआईसी एशिया बैंकले समेत नबिकेको हकप्रद सेयर असार १ गतेदेखि लिलामीमार्फत बिक्री खुलाएको छ ।

यो बैंकले नबिकेको साधारण शेयर २ लाख ९८ हजार ५३६ कित्ता लिलाम बिक्री गर्न लागेको हो । बैंकको न्यूनतम मूल्य प्रति शेयर १०० रुपैयाँमा बोलकबोल सुरु गर्न सकिने छ। बोलकबोल गर्दा न्यूनतम १०० कित्ता र अधिकतम एक लाख कित्तासम्मका लागि आवेदन दिन सकिने बिक्री प्रबन्धकको काम गरिरहेको एनआइसी एशिया क्यापिटलले जनाएको छ । असार ८ गतेसम्म लिलामीमा आवेदन दिन सकिने र असार ९ गते लिलामीको नतिजा प्रकाशन हुनेछ । यो बैंकको सेयरको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ४४० रुपैयाँ रहेको छ ।