काठमाण्डौ । साता कारोबारको चौथो दिन बुधबार नेप्से इन्डेक्स ४१ अंकले बढेको छ। नेप्से परिसूचक २.०३ प्रतिशतले बढेर २०६० विन्दुमा कायम भएको छ। बजारमा १ अर्ब ८८ करोड माथिको कारोबार भएको छ। 

आज अधिकांश बीमा कम्पनीको सेयरभाउ बढेको छ। जीवन बीमा उपसूचक ३.१५ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा उपसूचक २.९६ प्रतिशतले वृद्धि भएको छ। नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई हकप्रदको बाटो खुलाउने तयारी गरेसँगै आज जीवन तथा निर्जीवन बीमा कम्पनीको सेयरभाउ उचालिएको हो। 

प्राधिकरणले पुँजी वृद्धि प्रक्रियामा अघि बढिसकेका बीमा कम्पनीहरुलाई सहुलियतमा हकप्रदको बाटो खुलाएको छ। बीमा कम्पनीहरुको गत आर्थिक वर्षको वित्तीय विवरणका आधारमा हकप्रद बिक्री खुला गर्न दिइने प्राधिकरणले जनाएको छ। 

प्राधिकरणका अनुसार मर्जरमा सहभागी भएर पुँजी अपुग भएका कम्पनीहरुलाई हकप्रद निष्कासनका लागि पहिलो प्राथमिकतामा राखिनेछ। यसका साथै मर्जरमा नगई अन्य प्रक्रियाबाट पुँजी जुटाउन प्रयास गर्ने कम्पनीको हकमा असार मसान्तसम्मको नाफालाई पुँजीकरण गरेर बोनस सेयर जारी गर्न दिइने र अपुग भएको रकमबराबरको हकप्रद निष्कासन दिने प्राधिकरण स्रोतले जनाएको छ। 

बीमा कम्पनीहरुको वित्तीय विवरण प्रकाशित र लाभांश सिजन भएका कारण पनि आज बीमा उपसूचकहरु बढेका हुन्। बीमा कम्पनीहरुले वित्तीय विवरण प्रकाशित गरी नाफाका आधारमा सेयरधनीलाई बोनस प्रस्ताव गर्नेछ। बोनस वितरणपछि कम्पनीहरुको पुँजी वृद्धि भईकन पनि अपुग भएका कम्पनीलाई सोही आधारमा हकप्रद बिक्री खुला गर्न अनुमति दिने प्राधिकरणले जनाएको छ। 

यस आधारमा पनि आज अधिकांश बीमा कम्पनीको सेयरभाउ बढेको हो। बीमा कम्पनीमध्ये आज सर्वाधिक सेयरभाउ बढ्ने कम्पनीमा नेपाल इन्स्योरेन्स रहेको छ। सरकारी लगानीमा रहेको नेपाल इन्स्योरेन्सले आफ्नो सम्पत्ति लिलाम गरेर पुँजी वृद्धि गर्दैछ। यसका साथै अपुग भएको पुँजीबराबरको हकप्रद जारी गर्न दिने प्राधिकरणले जनाएको छ। कम्पनीको सेयरभाउ आज ५.८० प्रतिशत अर्थात ४२.५० रुपैयाँले बढेर ७७० रुपैयाँ पुगेको छ। 

त्यस्तै दोस्रोमा एलआईसी नेपाल रहेको छ। एलआईसी नेपालको सेयरभाउ आज ५.०८ प्रतिशतले बढेको छ। कम्पनीले पनि ८८.४५ प्रतिशत हकप्रद जारी गर्न नेपाल बीमा प्राधिकरणबाट स्वीकृति पाइसकेको छ। कम्पनीको सेयरभाउ ७२ रुपैयाँले बढेर १४८७ रुपैयाँमा कायम भएको छ।

यसका साथै तेस्रोमा एनएलजी इन्स्योरेन्स रहेको छ। एनएलजीको सेयरभाउ आज ५.०५ प्रतिशतले वृद्धि भएर ७९३.२० रुपैयाँमा कायम भएको छ। कम्पनीले पनि ६६ प्रतिशतको अनुपातले हकप्रद जारी गर्ने प्रस्ताव विशेष साधारणसभाबाट पारित गरी बीमा प्राधिकरणमा स्वीकृतिका लागि पेस गरेको छ। 

यसैगरी हिमालयन एभरेस्ट इन्स्योरेन्सको ४.९७ प्रतिशत, आईजीआई प्रुडेन्सियलको ४.०९ प्रतिशत, हिमालयन लाइफको ४.०४ प्रतिशत, सानिमा जीआईसीको ४.०१ प्रतिशत, नेपाल लाइफको ३.७४ प्रतिशत, सिद्धार्थ प्रिमियरको २.८८ प्रतिशत, प्रभु इन्स्योरेन्सको २.८४ प्रतिशत, सूर्यज्योति लाइफको २.७७ प्रतिशत, युनाइटेड अजोडको २.७१ प्रतिशत, एशियन लाइफको २.६२ प्रतिशत, नेसनल लाइफको २.५४ प्रतिशत, सलिकोको २.४९ प्रतिशत, नेको इन्स्योरेन्सको २.३० प्रतिशत, नेपाल पुनर्बीमाको २.०७ प्रतिशत, शिखरको २.०३ प्रतिशत, सानिमा रिलायन्स लाइफको २.०१ प्रतिशत र आइएमई लाइफको १.४१ प्रतिशतले सेयरभाउ बढेको छ। 

आज टप टर्नओभरको टप १० लिस्टमा दुई जीवन बीमा कम्पनी परेका छन्। साउन १८ गते नेप्सेमा सूचीकृत भएको आइएमई लाइफको सर्वाधिक १५ करोड ५० लाख रुपैयाँमाथिको कारोबार भएको छ। 

त्यस्तै सेयरभाउ बढेसँगै आज हिमालयन लाइफको पनि ५ करोड ३८ लाख रुपैयाँ माथिको कारोबार भएको छ।