काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । 

नेप्से परिसूचक २७.७५ अंकले बृद्धि भई २ हजार २२ को विन्दुमा उक्लिएको छ । सेयरबजार बढेसँगै यो दिन २९५ वटा कम्पनीको १ करोड ७१ लाख ६६ हजार कित्ता खरिदबिक्री हुँदा ५ अर्ब १५ करोड रुपैयाँभन्दा माथिको कारोबार भएको छ । 

नेप्सेमा रहेका १३ वटा उपसूचकहरुमध्ये आज बैंकिङ्ग र म्युचुअल फण्ड इन्डेक्स बाहेकका सबै सूचकहरुमा हरियाली छाएको छ । बीमा समूहका दई वटै उपसमूह बढेका भएका छन् । जीवन बीमा इन्डेक्स ०.२२ प्रतिशत र निर्जीवन बीमा इन्डेक्स १.०३ प्रतिशतले बृद्धि भएको छ । 
बीमा कम्पनीहरुमा आज सर्वाधिक कमाउने अर्थात् सेयरभाउ बढ्ने कम्पनीमा नेको इन्स्योरेन्स छ । कम्पनीको सेयरभाउ ५.३५ प्रतिशतले बृद्धि भएर ८८६ रुपैयाँ पुगेको छ । 

त्यस्तै, प्रभु इन्स्योरेन्सको ३.३७ प्रतिशत, एलआईसी नेपालको २.६७ प्रतिशत, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको २.१८ प्रतिशत, नेपाल रिइन्स्योरेन्सको १.९१ प्रतिशत, सन नेपाल लाइफको १.८५ प्रतिशत, सिटिजन लाइफको १.७८ प्रतितश, आइएमई लाइफको १.६४ प्रतिशतले बृद्धि भएको छ । 

त्यस्तै हिमालयन लाइफको १.३५ प्रतिशत, युनाइटेड अजोडको १.२८ प्रतिशत, हिमालयन एभरेष्टको ०.९७ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.९१ प्रतिशत र सिद्धार्थ प्रिमियरको ०.८३ प्रतिशतले बृद्धि भएको छ । 

त्यस्तै, एशियनल लाइफको ०.७२ प्रतिशत र शिखर इन्स्योरेन्सको ०.१३ प्रतिशतले बृद्धि भएको छ । बीमा उपसमूहहरु बृद्धि भएपनि आज केही बीमा कम्पनीका सेयरभाउ खस्किएका छन् । सर्वाधिक गुमाउने अर्थात् सेयरभाउ घट्ने बीमा कम्पनीमा नेपाल लाइफ छ ।

कम्पनीको सेयरभाउ आज एकैदिन २.८५ प्रतिशतले घटेर ६६४ रुपैयाँ ५० पैसा कायम छ । त्यस्तै, सानिमा रिलायन्स लाइफको २.०२ प्रतिशत, सानिमा जिआइसी इन्स्योरेन्सको ०.८८ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.६७ प्रतिशत, सूर्यज्योति लाइफको ०.३८ प्रतिशत, एनएलजीको ०.२४ प्रतिशत र नेशनल लाइफको ०.१८ प्रतिशतले सेयरभाउ घटेको छ । 

यसका साथै आज सर्वाधिक कारोबार हुने टप १० कम्पनीको सूचीमा तीन जीवन बीमा कम्पनी छन् ।सर्वाधिक रिलायबल नेपाल लाइफको १६ करोड १५ लाख, नेपाल लाइफको ८ करोड ८४ लाख र आइएमई लाइफको ८ करोड ६३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।