काठमाण्डौ । करिब २ वर्षपछि बजार बुम भएपछि ब्रोकर हाउसमा खुशियाली छाएको छ । 

आज नेप्सेमा कारोबार सुरु भएको ५ मिनेटमै ४ प्रतिशतले बजार बढेपछि पोजिटिभ सर्किट लगाई कारोबार स्थगन गर्नु परेको थियो । 

त्यसको २० मिनेटपछि पुनः सुरु भएको बजार केही मिनेटमै ५ प्रतिशतले बढेपछि दोश्रोपटक सर्किट लगाएर ४० मिनेट कारोबार रोक्नु परेको थियो । 

त्यसपछि खुलेको बजार पुनः उछालको गतिमै अगाडि बढेको थियो । केही मिनेटमै नेप्से परिसूचक ६ प्रतिशतले बढेपछि नियमअनुसार आजको बाँकी अवधिको कारोबार स्थगित गरिएको थियो । 

करिब २ वर्षको सन्नाटा र पट्यारलाग्दो बजारको गिरावटपछि मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाका कारण उत्साह बढेर बजार बुम भएपछि लगानीकर्ता खुशीले गदगद देखिएका छन् । 

राष्टबैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले सेयर धितो कर्जामा लचक नीति लिने घोषणा गरेको थियो भने बैंक ब्याजदर घट्ने गरी नीतिगत दरहरु समेत घटेका थिए । 

मौद्रिक नीति लगत्तै बैंकहरुले धमाधम ब्याज घटाउन थालेपछि र बजारमैत्री नीति आएपछि लगानीकर्तामा अभूतपूर्व उत्साह देखिएको छ । उत्साहित र उच्च मनोबलसहित कारोबारमा प्रवेश गरेका लगानीकर्ताहरुको मुहारमा लामो समयपछि खुशियाली छाएको देखिएको छ । 

सर्किटमाथि सर्किट लाग्दै बजार बुम भएपछि ब्रोकर हाउसमा खुशीले उफ्रिने, चिच्याउनेदेखि मिठाई बाँड्नेसम्मका लगानीकर्ता भेटिएका थिए । 

नयाँ लाइसेन्स पाएकोमध्ये आक्रामक विजिनेश गरिरहेको क्यापिटल म्याक्सको कार्यालयमा पनि त्यस्तै खुशियाली छाएको थियो ।

लगानीकर्ताहरुले आपसमा मिठाई बाँडेर बजार बुम भएको खुशियाली मनाएका थिए । लगानीकर्ताहरुको प्रसन्न मुद्राले उनीहरुमा फर्किएको उच्च मनोबल र त्यसका कारण निकट भविष्यमै बजार निकै माथि जाने प्रतित गरिरहेको थियो । 

भिडियो: