काठमाण्डौ । वारि अर्थात नेपालको सेयर बजार घटेको घट्यै छ । अर्थतन्त्रका आन्तरिक समस्या बढ्दै गएपछि मन्दीको छायाँले मुलुकलाई आक्रान्त बनाएको छ । ब्याजदर अपेक्षित ढंगले घट्न सकेको छैन भने सेयर बजारका लगानीकर्ताको मनोबल पनि बढ्न सकेको छैन । एकपछि अर्को गर्दै लगानीकर्ताको मनोबल कमजोर पार्ने गतिविधि सरकारी तहबाटै भइरहेको बेला पारि भने सेयर बजारलाई नयाँ नयाँ रेकर्ड बनाउँदै रकेटको गतिमा दौडिरहेको छ । पारि अर्थात भारतको सेयर बजारले मंगलबार पनि फेरि नयाँ कीर्तिमान बनाएको छ । 

सेन्सेक्सले ६९३८१.३१ को सर्वाधिक उचाईको रेकर्ड आज बनाएको हो । यस्तै, अर्को बजार सूचक निफ्टीले पनि २०८६४.०५ को अलटाइम हाईमा पुगेको छ । 

यसअघि सोमबार पनि बजार रकेटको गतिमा बढेर नयाँ उचाई बनाएको थियो । सोमबार बनेको नयाँ उचाईलाई समेत तोडेर मंगलबार भारतीय सेयर बजार बुम बनेको हो । 

मंगलबारका दिन सेन्से ६९२९६ मा बन्द भयो । निफ्टी भने १६८ अंकले बढेर २०८५५ मा बन्द भयो । 

भारतको तीनवटा राज्यमा भएको विधानसभा निर्वाचनमा सत्तासीन दल भाजपाले प्रचण्ड बहुमत प्राप्त गरेका कारण लगानीकर्तामा स्थिर सरकारको फ्याक्टरले मनोबल बढाउँदा बजार बढ्न पुगेको बताइएको छ । 

यस्तै, दोश्रो त्रैमासमा भारतको जीडीपी ग्रोथ अनुमान गरेभन्दा पनि अझ बढेर ७.६ प्रतिशत पुग्यो । केन्द्रीय बैंकले ६.५ प्रतिशत ग्रोथको मात्र अनुमान गरेको थियो । मुलुकको अर्थतन्त्रमा चमात्कारिक सुधार भएका कारण समेत लगानीकर्ताको मनोबल माथि उठ्दा त्यसको सकारात्मक प्रभाव सेयर बजारमा परेको हो । 

अमेरिकी सरकारको अनुसन्धान एजेन्सीले सर्ट सेलर हिन्डनबर्ग रिसर्चले अडानी समूहको कम्पनीमाथि लगाएको आरोपलाई ‘बेतुकको भएको बताएको छ । अमेरिकी सरकारले अडानी समूहलाई क्लीन चिट दिएको छ । यसको प्रभाव आजको कारोबारमा देखियो । अडानी समूहका सबै १० शेयरको मूल्य बढेको छ ।

अडानी समूहको प्रमुख कम्पनी अदानी इन्टरप्राइजेजको शेयर १७.३८ प्रतिशतले बढेको छ । त्यस्तै, अडानी ग्रीन इनर्जी, अडानी ट्रान्समिसन र अडानी ग्रीन इनर्जीको शेयर २० प्रतिशतभन्दा बढीले बढेको छ ।

के भन्छन् विज्ञ ?
मोर्गन स्टेनली इन्डियाका एमडी रिधम देसाईले आगामी ४ वर्षसम्म सेयर बजार वार्षिक २० प्रतिशतले बढ्ने अनुमान गरिएको बताउँछन् । 

भारतीय मिडियाहरुसँग कुरा गर्दै उनले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा सूचीकृत कम्पनीहरूको नाफाको अंश बढेर १० ११ प्रतिशत हुन सक्छ, जुन हाल ५ ८ प्रतिशत छ। यसका पछाडि लगानी वृद्धि, सरकारी खर्चमा वृद्धि, बचतमा सुधार, अन्तर्राष्ट्रिय व्यापारमा भएको वृद्धि र कम्पनीको उत्कृष्ट लाभांश रहेका छन् ।