काठमाण्डौ । विश्व २ वर्षयता कोरोना माहामारीको चपेटामा परेको छ। यही महामारीका कारण उद्योगधन्दा, व्यापारव्यवसाय र कार्यालयहरु धरासायी हुँदा लाखौँ मानिसको रोजगारी गुमिसकेको छ। कतिपयले भने घरबाटै कार्यालयको काम गर्ने सुविधा पाएका छन्। 

यसैबीच एउटा डरलाग्दो तथ्यांक सार्वजनिक भएको छ। अधिक परिश्रमकै कारण बर्सेनि लाखौँ मानिसको ज्यान जाने गरेको तथ्यांक सार्वजनिक भएको हो। 

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का  अनुसार अधिक परिश्रम (काम) कै कारण बर्सेनि ७ लाख ५० हजारभन्दा बढी मानिसको ज्यान जाने गरेको छ। यसरी ज्यान गुमाउनेमा दक्षिणपूर्वी एसिया र पश्चिम प्यासिफिक रिजनका बढी रहेको डब्ल्यूएचओले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले देखाएको छ। 

अनुसन्धानकर्ताका अनुसार सातामा ५५ घन्टाभन्दा बढी काम गर्नेलाई हृदयाघात तथा मुटुरोगसम्बन्धी जोखिम उच्च रहन्छ। यसरी ज्यान गुमाउनेमा अधवैंशे र बूढापाका बढी रहेका छन्। 

डब्ल्यूएचओका अनुसार अहिले लकडाउनमा घरबाटै काम गर्नेहरुको काम गर्ने समय १० प्रतिशतले बढेको छ। ‘यो अध्ययनमा कोरोना महामारीका क्रममा ज्यान गुमाएकाहरुको संख्या समावेश गरिएको छैन’, प्रतिवेदनमा भनिएको छ, ‘तर आर्थिक मन्दीकै कारण मानिसहरुले बढी काम गर्नुपरेको भने छ।’ – एजेन्सी