काठमाण्डौ । जीवन बीमा कम्पनीहरुबाट गत आर्थिक वर्ष २०७९–८० मा कुल १ लाख ४ हजार ५०६ वटा जीवन बीमालेख सरेन्डर भएका छन्।
नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्ष २०७८–७९ को तुलनामा पोलिसी सरेन्डर २७.६६ प्रतिशतले बढेको हो। प्राधिकरणले जीवन बीमा क्षेत्रमा पोलिसी समर्पण (सरेन्डर)हुनु सामान्य नै बताए पनि जीवन बीमा कम्पनीहरुमा अघिल्लो आर्थिक वर्षको तुलनामा बीमालेखको संख्या र बीमाशुल्क सरेन्डर रकम दुवै दोहोरो अंकले वृद्धि भएको तथ्यांकले देखाएको छ।
अघिल्लो आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरुबाट ८१ हजार ८६० वटा पोलिसी सरेन्डर भएका थिए। १४ कम्पनीमध्ये सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थान र एसियन लाइफबाट मात्रै बीमालेख सरेन्डरको संख्या घटेको छ भने बाँकी सबै कम्पनीबाट पोलिसी सरेन्डर बढ्न पुगेको छ।
सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सबाट मात्रै ३२ हजार १२६ वटा पोलिसी सरेन्डर भएका छन् भने एलआईसी नेपालबाट २० हजार १८० वटा पोलिसी त्याग भएका छन्।
त्यस्तै राष्ट्रिय बीमा संस्थानबाट १४ हजार ४११ वटा पोलिसी सरेन्डर भएका छन्। संस्थानको बीमालेख समर्पण संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा भने घटेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीबाट १६ हजार ९१७ वटा पोलिसी समर्पण भएको थियो।
प्राधिकरणका अनुसार जीवन बीमा कम्पनीहरुको पोलिसी सरेन्डर रकमसमेत बढेको छ। गत आर्थिक वर्षमा मात्रै कम्पनीहरुबाट १४ अर्ब २७ करोड ५४ लाख रुपैयाँबराबरको पोलिसी त्याग भएका छन्। यो बीमाशुल्क अघिल्लो आर्थिक वर्षको तुलनामा १७.२० प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षमा १२ अर्ब १८ करोड रुपैयाँबराबरको पोलिसी सरेन्डर भएको थियो। 
प्राधिकरणले बीमा ऐनमै बीमालेख समर्पण÷त्याग गर्न पाउने व्यवस्था भएको हुँदा सरेन्डर गर्नेहरुको संख्या बढेको बताइएको छ। बीमा अभिकर्ताले बीमालेख बिक्री गर्दा बीमितलाई राम्रोसँग बुझाउन नसक्दा पोलिसी सरेन्डरको दर बढ्दै गएको प्राधिकरणले जनाएको छ।

                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19