काठमाण्डौ । ‘टु मिनेट म्यागी...।’ त्यो पहेंलो प्याकेट, जसले सबैको मन जित्यो। यसलाई २ मिनेट नुडल्स वा इन्स्ट्यान्ट म्यागी पनि भनिन्छ। होस्टेल केटा–केटीको मनपर्ने खाना। टेस्टमेकरको त्यो चम्किलो प्याकेटहरुका साथ स्वादिष्ट र स्वस्थ म्यागी। 

हो, तपाइँको म्यागी अब १४ को भयो। यो म्यागीको उमेर होइन मूल्य हो। जुन बढेको छ। २ मिनेटमा कहिल्यै पकाउन नसकिने म्यागीको मूल्य २ मिनेट दाबी गर्दै बढाइएको छ। 

म्यागी निर्माता कम्पनी नेस्ले इन्डियाले आफ्ना उत्पादनको मूल्य बढाएको छ। यो वृद्धिपछि अब भारु १२ रुपैयाँको सानो पहेँलो प्याकेट भारु १४ मा उपलब्ध हुनेछ। बढ्दो महँगीको प्रभाव म्यागीसम्म पुगेको छ।

नेस्ले इन्डियाले म्यागीको मूल्य ९–१६ प्रतिशतले बढाएको घोषणा गरेको छ। ७० ग्रामको सबैभन्दा सानो प्याक अब भारु १४ मा उपलब्ध हुनेछ। यसअघि यसको मूल्य भारु १२ थियो। योसँगै १४० ग्राम प्याकेटको मूल्य १२.५ प्रतिशतले बढेको छ। यसबाहेक ५६० ग्रामको प्याकेट भारु ९६ बाट बढेर अब भारु १०५ मा उपलब्ध हुनेछ। लागत बढेपछि कम्पनीले मूल्य बढाएको हो।

म्यागी भारत आएको ३८ वर्ष बितिसकेको छ। सन् १९८४ मा भारतीय बजारमा आएको म्यागीले यति धेरै माया पाउँछ भन्ने सोचेको थिएन। २ मिनेट भनेर २ मिनेटमा नपाक्ने म्यागीको जन्म कसरी भयो ? कसले दियो यो नाम ? बारम्बार विवाद हुँदा पनि किन रोक लगाइएन ? करोडौँ मनको रोजाइको म्यागीको मूल्य बढ्यो भने कस्तो प्रभाव पर्ला ? 

सन् १९४७ मा ब्रान्ड ‘म्यागी’ स्विस कम्पनी नेस्लेसँग मर्ज भयो। त्यसयता म्यागी नेस्लेको सबैभन्दा चर्चित ब्रान्ड हो। नेस्ले इन्डियाले आफ्ना उत्पादनको विज्ञापनमा करिब भारु १०० करोड खर्च गर्छ। यसमा म्यागीको सबैभन्दा बढी हिस्सा रहेको छ। 

म्यागी भारतको सबैभन्दा मूल्यवान ब्रान्डमध्ये एक हो। वास्तवमा प्रसिद्ध स्विस कम्पनी नेस्लेको सहायक ब्रान्ड हो। तर, अधिकांश मानिस नेस्लेभन्दा म्यागी मूल ब्रान्डका रुपमा लिन्छन्। 

यो थाहा पाउँदा अचम्म लाग्न सक्छ कि नेस्लेको सबैभन्दा लोकप्रिय उत्पादन म्यागी बाध्यताबाट जन्मिएको हो। त्यो समयको अभावले गर्दा हो। वास्तवमा सन् १८७२ मा स्विट्जरल्यान्डका एक उद्यमी जुलियस मेगीले म्यागी ब्रान्ड स्थापना गरे। स्विट्जरल्यान्डमा यो औद्योगिक क्रान्तिको अवधि थियो। जहाँ महिलाहरुले लामो समयसम्म कारखानामा मजदुरका रुपमा काम गर्नुपरेको थियो। कामको समय लामो भएकाले खाना पकाउन थोरै समय बाँकी रहेकोले स्विस पब्लिक वेलफेयर सोसाइटीले जुलियस म्यागीको सहयोग लियो। यसरी भोकको बाध्यतालाई हेरेर म्यागीको जन्म भयो। जुलियसले उत्पादनको नाम आफ्नो उपनामबाट राखे। उनको पूरा नाम जुलियस माइकल जोहानेस मागी थियो। म्यागी चाउचाउ पहिलोपटक सन् १८९७ मा जर्मनीमा ल्याइएको थियो। 

सुरुमा जुलियसले प्रोटिनयुक्त खाना र तयार सुप बनाउँथे। उनका चिकित्सक साथी फ्रिडोलिन सुलरले उनलाई यो काममा मद्दत गरे। तर, दुई मिनेटमा बनेको म्यागीलाई मानिसले रुचाए। सन् १९१२ सम्ममा अमेरिका र फ्रान्सजस्ता देशका जनताले म्यागीलाई लिएका थिए। तर, त्यही वर्ष जुलियस म्यागीको मृत्यु भयो। उनको मृत्युले म्यागीलाई पनि असर गर्यो र यसको व्यापार लामो समयसम्म सुस्त गतिमा चल्यो। सन् १९४७ मा जब नेस्लेले म्यागी किन्यो र यसको ब्रान्डिङ र मार्केटिङले म्यागीलाई हरेक घरको भान्छामा ल्यायो।

म्यागीको नाममा देशमा धेरै विवाद भए। कहिले यसको सूत्रका बारेमा र कहिले सन्देश र नेतृत्वको बारेमा। तर, जनताले म्यागीमात्र मन पराए। सन् १९९७ मा नेस्लेले म्यागी चाउचाउ उत्पादनको सूत्र परिवर्तन गर्यो र यसको बिक्री र बजार साझेदारी बढाउन नयाँ चाउचाउ ल्यायो। तर, भारतीय भान्साको गौरवका रुपमा रहेको म्यागीमा भएको यो परिवर्तनलाई कसैले मन पराएन र दुई वर्षसम्म लगातार म्यागीको बिक्री घट्यो। अन्ततः सन् १९९९ मा कम्पनी पुरानै फर्मुलामा फर्किनुपर्यो। आज पनि २ मिनेटमा तयार हुने दाबी गर्ने परम्परागत मैदा चाउचाउ पहिलो नम्बरमा छ। – एजेन्सी