काठमाण्डौ । अब विदेश भ्रमणमा जानेहरुलाई डलर सटही सुविधाको सीमा बढाइएको छ। 

नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्ने बैंक तथा अन्य निकायका लागि जारी निर्देशनमा संशोधन गर्दै डलर सटही सुविधाको सीमा बढाएको हो। संशोधित निर्देशनअनुसार अब भारतबाहेक विदेश भ्रमणमा जाँदा राहदानीबापत पाइने डलर सटहीको सुविधा बढाएर २ हजार ५०० अमेरिकी डलर पुर्याइएको छ। यसअघि यस्तो सुविधा १ हजार ५०० अमेरिकी डलरको थियो। 

संशोधित निर्देशनबमोजिम १ वर्षमा २ पटकसम्म प्रतिपटक २ हजार ५०० अमेरिकी डलर साट्न पाइनेछ। 

यो परिपत्र जारी भएको मिति २०८० साउन १२ गतेअगावै राहदानीबापतको सटही सुविधा लिई भ्रमण गरिसकेकाको हकमा आर्थिक वर्ष २०८०–८१मा प्रतिव्यक्ति अधिकतम २ हजार ५०० अमेरिकी डलर गरी अधिकतम दुईपटक सटही सुविधा प्रदान गर्न भने बाधा नपर्ने व्यवस्था गरिएको छ। 

यसैगरी नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानीबापत अधिकतम २०० अमेरिकी डलरसम्म मात्र सटही सुविधा उपलब्ध गराउन पाइने व्यवस्था पनि संशोधित निर्देशनमा गरिएको छ।