काठमाण्डौ । चिनियाँ प्रविधि कम्पनी हुवावेईले सन् २०२३ मा बलियोसँग ट्रयाकमा फर्किएको बताएको छ।

कुनै बेला संयुक्तराज्य अमेरिकाको प्रतिबन्धका कारण ‘जीवन वा मरणको संकट’मा हुवावेई निन्तररको परिश्रमका कारण  द्वन्द्वको अवस्थामा रहेता पनि ट्याकमा फर्किएको संकेत गरेको छ ।

कम्पनीले सन् २०२३ मा ७०० बिलियन युआन अर्थात् ९९ बिलियन डलरभन्दा बढी बिक्री आम्दानी गर्ने अपेक्षा गरेको छ । यो अवधिमा कम्पनीको व्यवसायमा अपेक्षा गरिएको भन्दा राम्रो भएको बताइएको छ । त्यो भनेको सन् २०२२ मा रेकर्ड गरिएको ६४२.३ बिलियन युआन  अर्थात् ९२.४ बिलियन डलरको तुलनामा ९ प्रतिशतले बृद्धि हो ।तर, यो सन् २०१९ मा कम्पनीले गरेको अनुमानित लक्ष्य १२३ बिलियनभन्दा अझै कम हो ।

विश्वभर हुवावेईका एन्ड्रोइड स्मार्टफोन निकै लोकप्रिय छ । यूरोप र दक्षिण–पूर्वी एशियामा यसका धेरै प्रयोगकर्ता छन् । 
 

सीएनबीसीसँगको अन्तरवर्तामा कम्पनीका अधयक्ष केन हुले वर्षौंको कडा परिश्रम पछि प्रतिवन्ध तथा प्रतिस्पर्धाका बाबजूद पनि लक्ष्य हासिल गर्ने दिशामा उन्मुख रहेको बताएका छन् । उनले भने, ‘अहिले हामी धेरै हदसम्म ट्र्याकमा फर्केका छौं ।’
 

गत अगस्टमा मात्रै कम्पनीले मेट- ६० प्रो स्मार्ट फोन लन्च गरेपछि कम्पनीको बिक्री आम्दानीमा ठूलो टेवा पुगेको छ । अमेरिकाले कम्पनीलाई घरेलु बजारमा प्रतिबन्ध लगाएपछि यसको आम्दानीमा प्रत्यक्ष असर परेको थियो ।

काउन्टरपोइन्ट रिसर्चका अनुसार कम्पनीले लन्च गरेको यो स्मार्टफोनलाई चिनियाँ घरेलु उपभोक्ताहरूले प्रतिस्पर्धी एप्पलको तुलनामा मन पराएका छन् । सेप्टेम्बरको अन्त्यसम्म चिनियाँ बजारमा हुवावेई पाँचौं स्थानमा थियो ।

घरेलु बजारमा पहिलो त्रैमासिक सम्ममा आफ्नो अंश १० प्रतिशत रहेकोमा यसलाई बढाएर कम्पनीले तेस्रो त्रैमाससम्ममा १४ प्रतिशतसम्म पुरयाएको छ। तर प्रतिस्पर्धी एप्पलको भने चिनियाँ बजारमा बिक्री २० प्रतिशतबाट १५ प्रतिशतमा संकुचित भयो ।

अमेरिकी नीति निर्माताहरूले लामो समयदेखि हुवावेईले राष्ट्रिय सुरक्षा जोखिममा असर गरेको दाबी गर्दै आएका छन् र प्रतिबन्ध कायमै राखेका छन् । चिनियाँ कम्पनीको उपकरणले जासुसी गर्न सक्ने उनीहरुको आरोप छ।

विश्वको दोस्रो ठूलो स्मार्टफोन निर्माता कम्पनी हुवावेईमाथि अमेरिका तथा क्यानाडालगायतका देशहरुले बैंकमा ठगी गरेको, न्यायमा वाधा उत्पन्न गरेको र अमेरिकी कम्पनी टी मोबाइलबाट प्रविधि चोरेको आरोप छ । 
अन्तरवार्तामा अध्यक्षले भूराजनीतिक र आर्थिक अनिश्चितताहरू प्रशस्त रहेको उल्लेख गर्दै प्रतिबन्ध कायमै रहेको र व्यापार अवरोधहरूले विश्वमा प्रभाव भने परिरहेको पनि बताएका छन् ।  अमेरिकी सरकारले हुवावेईका उपकरणको प्रयोग चीनको सुराकीको लागि हुनसक्ने आशंका व्यक्त गर्दै आएको छ । उसले हुवावेईलाई आफ्नो
कालोसूचीमा राखेको छ ।यो सूचीमा रहेका कम्पनीले अमेरिकी कम्पनीसँग कारोबार गर्न पाउँदैनन् ।

अझ भनौं, यो कम्पनी अहिले अमेरिका–चीन व्यापारयुद्धको मारमा छ । यस्तोमा अमेरिकी प्रविधि कम्पनीसँगको निर्भरता घटाउन उसले केही योजना अघि सारेको छ । केही समयअघि मात्रै कम्पनीले आफ्नै अपरेटिङ सिस्टम हार्मोनीओएस सार्वजनिक गरेको थियो ।

गूगलले हुवावेईलाई एन्ड्रोइड उपलब्ध नगराउने निर्णय गरे आफ्ना स्मार्टफोनमा तत्काल हार्मोनीओएस प्रयोग गरिने हुवावेईले स्पष्ट पारिसकेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि कहिले हुवावेईमाथिको प्रतिबन्ध खुकुलो बनाउने तथा कहिले हुवावेईसँग व्यापार गर्न इच्छुक नरहेको भन्दै मिश्रित संकेत दिंदै आएका छन् ।

ता पनि कम्पनीले बजार विस्तारका लागि बैकल्पिक उपायहरु भने खोजिरहेको छ ।-एजेन्सी