काठमाण्डौ । कोरोना महामारीपछि विश्वभरका सहरहरुको जीवनस्तर फेरि एकपटक सुधार हुँदै गएको छ।
इकोनोमिस्ट इन्टेलिजेन्स युनिटको वार्षिक ग्लोबल लाइभबिलिटी इन्डेक्सका अनुसार औसत जीवनस्तर १५ वर्षकै उच्चमा पुगेको छ। यस प्रतिवेदनमा विश्वका १७३ सहरलाई स्थायित्व, स्वास्थ्य, संस्कृति र वातावरणका साथै शिक्षा र पूर्वाधारका आधारमा मापन गरिएको छ।
जनताको जीवनस्तरमा आएको यो सुधारको श्रेय एसिया, मध्यपूर्व र अफ्रिकामा स्वास्थ्य र शिक्षाको स्तरमा आएको सुधारलाई जान्छ। तर, युक्रेन युद्धका कारण उत्पन्न भएको विश्वव्यापी मुद्रास्फीति संकटका कारण स्थायित्व स्तर अलिकति घटेको छ।
अर्कोतर्फ कोरोना महामारीका बेला लगाइएको प्रतिबन्धको अन्त्य भएपछि विश्व सामान्य जनजीवनमा फर्किएको छ र समग्रमा जनताको जीवनस्तरमा सुधार आएको छ।
तथ्यांकका आधारमा यो प्रतिवेदनमा कुनै सहर कति राम्रो बस्न लायक छ भन्ने कुरा बताइएको छ तर त्यो सहरमा बस्ने मानिसले मात्र आफ्नो अनुभवका आधारमा यो प्रश्नको जबाफ दिन सक्छन्।
बस्नका लागि उत्कृष्ट विश्वका ५ सहर
भियना (अस्ट्रिया)
अस्ट्रियाको राजधानी भियना यो सूचीमा पहिलो नम्बरमा छ। यो सहर २०२१ मा मात्रै यस सूचीमा तल आयो किनकि त्यो वर्ष सहरका म्युजियम र रेस्टुरेन्टहरु कोरोना भाइरसका कारण बन्द भएका थिए। तर, स्थायित्व, स्वास्थ्य सेवा, शिक्षा र पूर्वाधारका हिसाबले यो सहर उत्कृष्ट रहेको भियनाका बासिन्दाहरु बताउँछन।
मानुएला फिलिपो मिसेलिन स्टार रेस्टुरेन्टको प्रबन्धक हुन्। उनी आफ्ना पतिलाई व्यवसाय चलाउन मद्दत गर्छिन्। उनी भन्छिन्, ‘सहरको इतिहास, भरपर्दो सार्वजनिक यातायात, क्याफेहरुमा सजिलो पहुँच, थिएटरहरु र अन्य मनोरञ्जन स्थलहरु केवल केही कारणहरु हुन्। जसले भियनालाई बस्नका लागि उत्कृष्ट ठाउँ बनाउँदछ।’
‘कहिलेकाहीँ जब हामी धेरै काम गर्छौं र लामो समयसम्म कतै जानका लागि समय हुँदैन, हामी सहरभित्र हाम्रा सबै मनोरञ्जन आवश्यकताहरु पूरा गर्न सक्छौँ’, उनी भन्छिन्।
रिचर्ड भोस भियनाको होटेल दास टिग्रामा बिक्री र मार्केटिङ प्रबन्धक छन्। उनलाई विश्वास छ कि सहरको जीवनको गुणस्तर यसको सांस्कृतिक इतिहास र सांस्कृतिक गतिविधिहरुले बढाउँछ। ‘भियनामा धेरै प्रभावशाली ऐतिहासिक भवन छन्’, उनले भने।
मेलबर्न (अस्ट्रेलिया)
अस्ट्रेलियाका सहर मेलबर्न र सिड्नी दुवैले यो पटक वरियतामा तेस्रो र चौथो स्थानमा छन्। मेलबर्नले संस्कृति र वातावरणको सन्दर्भमा विशेष गरी राम्रो स्कोर गरेको छ र स्थानीयहरु यसमा गर्व गर्छन्।
जेन मोरेल करियर सोलुसन कम्पनीका सीईओ हुन्। उनी भन्छिन्, ‘मेलबर्न यहाँको खाना, सांस्कृतिक गतिविधि, कार्यक्रम र अस्ट्रेलियन फर्मुला वान र अस्ट्रेलियन ओपनजस्ता अन्तर्राष्ट्रिय खेलहरुका कारण शीर्ष सहर हो।’मेलबर्न पनि विश्व प्रसिद्ध समुद्र तटहरुबाट केही दूरीमा अवस्थित छ।
भ्यानकुभर (क्यानडा)
भ्यानकुभर, क्यालगरी र टोरन्टोसहित ३ क्यानाडाका सहरहरु यस सूचीमा शीर्ष १० मा छन्। यद्यपि, भ्यानकुभर यसको संस्कृति र वातावरण स्कोरका कारण शीर्ष ५ मा छ। यही कारणले स्थानीयहरुले भ्यानकुभरलाई माया गर्छन्। भ्यानकुभर जंगल, समुद्र र आकाशमा सहज पहुँच भएको सहर हो। यहाँको अध्यागमन नीतिका कारण विश्वका विभिन्न देशका मानिस यहाँ तानिएका छन्।
ओसाका (जापान)
ओसाकाले स्थायित्व, स्वास्थ्य प्रणाली र शिक्षामा सतप्रतिशत अंक ल्याए पनि ओसाका सूचीमा १० औँ स्थानमा छ। शीर्ष १० मा समावेश गर्ने एसियाको एकमात्र सहर हो। यस्तो समयमा जब विश्वभरका मानिसहरु मुद्रास्फीतिबाट चिन्तित छन्। यो एउटा सहर हो, जुन धेरै किफायती छ र स्थानीयहरु यसमा खुसी छन्। यो सहर पनि अन्य सहरको तुलनामा सुरक्षित मानिन्छ। यससँगै यहाँको भरपर्दो सार्वजनिक यातायात व्यवस्था पनि निकै फाइदाजनक छ।
अकल्यान्ड (न्युजिल्यान्ड)
अकल्यान्डले ओसाकासँग १० औँ स्थानमा छ। गत वर्ष यो सहर सूचीमा २५ औँ स्थानमा थियो। यद्यपि शिक्षासँगै शहरले संस्कृति र वातावरणमा पनि राम्रो स्कोर गर्दछ। यस स्थानका बासिन्दाले पनि यी तथ्यांकहरुमा विश्वास गरेको देखिन्छ। अकःल्यान्डमा बस्नेहरुका लागि २० मिनेट टाढा एउटा सुन्दर समुद्र तट रहेको छ। सहरवरिपरि धेरै हरियाली छ। यो न्युजिल्यान्डको सबैभन्दा ठूलो सहर हो। जसले विश्व स्तरका कार्यक्रमहरु आयोजना गर्दछ। –एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago