काठमाण्डौ । युक्रेनमा जारी संकटका बीच अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग फोनवार्ता गर्ने भएका छन्।

समाचार एजेन्सी एएफपीका अनुसार बाइडेनले आफ्ना चिनियाँ समकक्षीलाई चेतावनी दिनेछन् कि यदि चीनले रुसलाई अहिलेसम्म लगाएको प्रतिबन्धबाट बचायो भने चीनले पनि यसको मूल्य चुकाउनुपर्नेछ। 

गत नोभेम्बरमा भिडियो शिखर वार्तापछि बाइडेन र जिनपिङबीच यो पहिलो वार्ता हुनेछ। युक्रेन संकटको बीचमा अमेरिका रुसप्रति कठोर छ। त्यसैले आजको वार्तामा रुसप्रति चीनको दृष्टिकोण अमेरिकाले बुझ्न चाहनेछ। 

यस्तो अवस्थामा यो वार्ताबाट मतभेद सुल्झाउने अवसर पनि आउने बताइएको छ। 

ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन साकीले राष्ट्रपति बाइडेनले वार्ताबाट सी जिनपिङको अडान के हो भन्ने कुरा थाहा पाउने मौका पाउने बताइन्। साकीका अनुसार व्यापार र अन्तर्राष्ट्रिय आपूर्ति शृंखलाका विषयमा पनि वार्ता हुनेछ। तर, युक्रेनमा रुसले गरेको आक्रमणको विषयलाई विशेष जोड दिइने पनि बताइएको छ। 

अमेरिकाले युक्रेनी सेनालाई सैन्य सहयोग गर्नुका साथै रुसविरुद्धमा पश्चिमी देशहरुलाई पनि एकजुट गरेको छ। तर, चीनले रुसको निन्दा गर्न अस्वीकार गरेको छ। वासिङ्टनलाई रुसलाई चीनले आर्थिक र सैन्य सहायता दिने डर छ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बाइडेनले रुसको आक्रमणलाई सहयोग गर्ने जिम्मेवारी चीनले लिनुपर्ने कुरा स्पष्ट पार्ने बताएका छन्। –एजेन्सी