काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बागमती प्रदेशको वार्षिक आर्थिक गतिविधि अध्ययन सार्वजनिक गरेको छ।
राष्ट्र बैंकले बागमती प्रदेशमा रहेका १३ वटा जिल्लाको स्थलगत तथा गैरस्थलगत सर्वेक्षणबाट प्राप्त तथ्यांक तथा सूचनाका आधारमा तयार गरिएको आर्थिक वर्ष २०७८–७९ को वार्षिक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो।
बागमती प्रदेशमा वित्तीय सेवा सबैभन्दा उच्च रहेको छ। आर्थिक वर्ष २०७९ असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाका कुल ३ हजार ३ शाखा सञ्चालनमा रहेको राष्ट्र बैंकले जनाएको छ। ‘वाणिज्य बैंकका १ हजार ८०७, विकास बैंकका ३२१, वित्त कम्पनीका १०६ र लघुवित्त वित्तीय संस्थाका ७६९ शाखा छन्’, प्रतिवेदनमा भनिएको छ, ‘यसमध्ये काठमाण्डौ जिल्लामा सबैभन्दा बढी १ हजार १७२ तथा रसुवा जिल्लामा सबैभन्दा कम ४९ शाखा सञ्चालनमा रहेका छन्।’
२०७४ को मौद्रिक नीतिमा सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा स्थापना गर्नुपर्ने व्यवस्थापश्चात बागमती प्रदेशका सबै ११९ स्थानीय तहहरुमा बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति रहेको छ। बैंक तथा वित्तीय संस्थाले बागमती प्रदेशबाट संकलन गरेको कुल निक्षेप २०७८ असार मसान्तको तुलनामा ९.४ प्रतिशतले वृद्धि भई २०७९ असार मसान्तमा ३५ खर्ब ९ अर्ब ९४ करोड पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो निक्षेप १९.२८ प्रतिशतले वृद्धि भएको थियो।
२०७९ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले यस प्रदेशमा प्रवाह गरेको कर्जा २०७८ असार मसान्तको तुलनामा ११.४ प्रतिशतले वृद्धि भई २६ खर्ब २१ अर्व १५ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो कर्जा २८.५ प्रतिशतले वृद्धि भएको थियो। २०७९ असार मसान्तमा कर्जा निक्षेप अनुपात ७४.७ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यस्तो अनुपात ७३.३ प्रतिशत रहेको थियो।
२०७९ असार मसान्तसम्म कुल कर्जाको तुलनामा पुनरकर्जाको हिस्सा १.६ प्रतिशत रहेको छ। कुल ४१ अर्ब ८ करोड पुनरकर्जा प्रवाहित भएकोमा साधारण पुनरकर्जाको हिस्सा ८४.६३ रहेको छ। विशेष पुनरकर्जाअन्तर्गत निर्यात, महिला उद्यम, प्राकृतिक प्रकोप र अन्य गरी चार प्रकारका रहेका छन्। जसमा कुल पुनरकर्जाको १२.१९ प्रतिशत हिस्सा प्रवाहित भएको छ।
लघु, घरेलु तथा साना उद्यममा ३.१८ प्रतिशत रकम प्रवाह भएको छ। २०७९ असार मसान्तसम्म कुल कर्जाको तुलनामा सहुलियतपूर्ण कर्जाको हिस्सा २.८ प्रतिशत रहेको छ।
यो प्रदेशमा प्रवाहित सहुलियत पूर्णकर्जामध्ये व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा शीर्षकमा सबैभन्दा बढी ६५.७ प्रतिशत तथा महिला उद्यमशील कर्जा शीर्षकमा २९.५ प्रतिशत कर्जा बक्यौता रहेको छ भने अन्य शीर्षकमा नगन्य मात्रामा कर्जाको बक्यौता रहेको छ।
२०७९ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले यस प्रदेशका औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा ६ प्रतिशतले ह्रास भई ८ खर्ब ४२ अर्ब ६६ करोड पुगेको छ। गत वर्ष यस्तो कर्जा २५.७ प्रतिशतले वृद्धि भई ८ खर्ब ९६ अर्ब ४२ करोड पुगेको थियो।
बागमती प्रदेशमा प्रवाह भएको कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश ३२.१ प्रतिशत रहेको छ। औद्योगिक कर्जामध्ये काठमाण्डौ जिल्लामा सबैभन्दा बढी ७ खर्ब ५७ अर्ब ५ करोड (८९.८ प्रतिशत) कर्जा लगानीमा रहेको छ भने रसुवा जिल्लामा सबैभन्दा कम २६ करोड (०.०३ प्रतिशत) कर्जा लगानी रहेको छ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19