काठमाण्डौ । भारतले चामलको विषयमा अर्को ठूलो निर्णय गरेको छ।

भारतले अब बासमती चामलको निर्यातमा पनि प्रतिबन्ध लगाएको हो। तर, यसमा भारत सरकारबाट केही सर्तसहित निर्यात गर्न दिने व्यवस्था पनि गरेको छ। 

भारत सरकारले प्रतिटन १ हजार २०० डलरभन्दा बढी मूल्यमा निकासी गर्न स्वीकृति दिएको घोषणा गर्दै योभन्दा कम मूल्यमा बासमती चामल निकासी गर्न नपाइने स्पष्ट पारेको हो।

यस सम्बन्धमा भारतको वाणिज्य मन्त्रालयका तर्फबाट आइतबार जानकारी दिँदै व्यापार प्रवर्द्धन निकाय कृषि तथा प्रशोधित खाद्य पदार्थ निकासी विकास प्राधिकरणलाई प्रतिटन १ हजार २०० डलरभन्दा कमको ठेक्का तत्काल लागू नगर्न निर्देशन दिइएको छ। यस विषयमा आगामी दिनमा प्राधिकरणको अध्यक्षतामा समिति गठन गरिने बताइएको छ। 

चामलको खुद्रा मूल्य नियन्त्रण गर्ने प्रयासमा भारत सरकारले आन्तरिक आपूर्ति बढाउन विभिन्न कदम चालिरहेको छ।

बासमती चामलमा विशेष गुणस्तरको चामल रहेको र ठूलो परिमाणमा भारतबाट निर्यात हुने गरेको छ। वाणिज्य मन्त्रालयको तथ्यांकअनुसार भारतले आर्थिक वर्ष २०२२–२३ मा ४ अर्ब ८० करोड डलरबराबरको ४५ लाख ६० हजार टन बासमती चामल निर्यात गरेको थियो। 

घरेलु उपलब्धता र मौसमी सरोकार रहेको बताइए पनि यस निर्णयको अर्को कारण बासमती चामलको ठेक्कामा ठूलो अन्तर रहेको पाइएको छ। वास्तवमा यो महिना बासमती चामलको औसत अनुबन्ध मूल्य प्रतिमेट्रिकटन १ हजार २१४ डलर रहेको भारतले जनाएको छ। यद्यपि, सम्झौताहरु पनि प्रतिमेट्रिकटन ३५९ डलरको कम दरमा बनाइएको छ। जुन औसत मूल्यभन्दा निकै कम हो। यस्तो अवस्थामा भारत सरकारले यस विषयमा छलफल गरी दुरुपयोग रोक्न पहल गर्न अपेडालाई निर्देशन दिएको हो।

सरकारले यसअघि गत जुलाई २० मा गैरबासमती सेतो चामल निकासीमा प्रतिबन्ध लगाएको थियो। यो निर्णयपछि भारतबाट सबैभन्दा बढी चामल निकासी हुने मुलुकहरुको समस्या बढेको छ। भारतबाट निकासी हुने कुल चामलमा गैरबासमती सेतो चामलको हिस्सा करिब २५ प्रतिशत रहेको छ। –एजेन्सी