काठमाण्डौ । पछिल्लो समय ऋणपत्र बिक्री हुन छाडेको छ । केही समयअघि बैंक तथा बित्तीय संस्थाले अफर गरेका १४ प्रतिशतसम्मको ब्याजदरमा धेरैले पैसा मुद्धती निक्षेपमा राखेका कारण र ऋणपत्र बजारको सुनिश्चितता तथा परिपक्वताको बिषयमा कुनै प्रष्ट र बलियो नीति नबनेका कारण आकर्षक ब्याजदरको अफरसहित खुलेका ऋणपत्र समेत बिक्री हुन छाडेका छन् । 

केही समयअघि सानिमाले निश्कासन गरेको ऋणपत्र सुपरफ्लप भएको थियो । सानिमाले वार्षिक १० प्रतिशत ब्याज पाउने गरी निश्कासन गरेको ऋणपत्रमध्ये ६६ प्रतिशत बिक्री भएको थिएन । यो क्रममा सिद्धार्थ बैंकले निश्कासन गरेको ऋणपत्र समेत सुपरफ्लपको सूचिमै परेको छ । 

यो कम्पनीले वार्षिक १०.५ प्रतिशत ब्याज पाउने गरी निश्कासन गरेको ऋणपत्रमा मागको तुलनामा ११.११ प्रतिशत मात्र आवेदन परेको हो । 

बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलका अनुसार सर्वसाधारणका लागि सुरक्षित गरिएको ४५ करोड रुपैयाँको ऋणपत्रमध्ये आवेदन दिने अन्तिम दिन आजसम्म ५ करोडको हाराहारीमा मात्र खरीद प्रस्ताव परेको हो । 

एसबिएल ऋणपत्र २०८२ नाम दिइएको यो सातवर्षे ऋणपत्रमा वार्षिक १०.५ प्रतिशत ब्याज पाइने अफर थियो । ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा गरिने बताइए पनि यसप्रति सर्वसाधारण लगानीकर्ता आबकर्षित भएनन् । 

बैंकले कुल २ अर्ब २५ करोड रुपैयाँ बराबरको ऋणपत्र निश्कासन गरेको हो ।

कुल निश्कासित कित्तामध्ये २० प्रतिशत(रु ४५ करोड) सर्वसाधारणका लागि सुरक्षित गरिएको थियो । 

एकहजार प्रतिकित्ताको दरले निश्कासित ऋणपत्रमा इच्छुकले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिनसक्ने व्यवस्था गरिएको थियो ।

सिद्धार्थ बैंक अगाडि वार्षिक १० प्रतिशत ब्याजको अफरसहित सानिमाले निश्कासन गरेको ऋणपत्र समेत ६६ प्रतिशत बिक्री भएको थिएन ।