काठमाण्डौ । बिमा कम्पनीहरुको चुक्तापूँजी वृद्धिको पट्यारलाग्दो प्रतिक्षा समाप्त भएको छ । शुक्रबार बसेको बिमा समितिको बैठकले जीवन र निर्जीवन बिमा कम्पनीहरुलाई चुक्तापूँजी वृद्धि गर्न निर्देशन दिने निर्णय गरेको हो । 

बिमा समितिको यो निर्णयसँगै निर्जीवन बिमा कम्पनीको चुक्तापूँजी साबिकको तुलनामा चार गुणाले वृद्धि हुनेछ भने जीवन बिमा कम्पनीको चुक्तापूँजीमा ३.६३ गुणाको वृद्धि गर्नुपर्नेछ । 

नयाँ व्यवस्था अनुसार अब निर्जीवन बिमा कम्पनीहरुले तिनीहरुको चुक्तापूँजी १ अर्ब पुर्याउनुपर्नेछ भने जीवन बिमा कम्पनीले २ अर्ब पुर्याउनुपर्नेछ । बिमा कम्पनीहरुले तोकिएको चुक्तापूँजी २०७५ असार मसान्तसम्म पुर्याउनुपर्ने नीतिगत व्यवस्था गरिएको छ । 

हाल निर्जीवन बिमा कम्पनीको चुक्तापूँजी २५ करोड र जीवन बिमा कम्पनीको चुक्तापुँजी ५५ करोड हुनुपर्ने प्रावधान छ । 

हाल देशमा ९ जीवन बिमा कम्पनी र १८ निर्जिवन बिमा कम्पनी संचालनमा छन् । 

हल्ला सही
केही दिनअघिदेखि नै बजारमा बिमा कम्पनीहरुको चुक्तापूँजी २ अर्बसम्म पुग्ने हल्ला व्यापक बनेको थियो । यही हल्लाका कारण बिमा समूहको सूचकले छलांग नै मारेको थियो । यसको आधिकारिक पुुष्टि चाहि अहिलेसम्म भएको थिएन । 

बिमा समितिले चुक्तापूँजी वृद्धिको प्रस्ताव अर्थमन्त्रालयमा पठाई त्यहाँको स्वीकृतिको प्रतिक्षा गरिरहेको थियो । अर्थले समेत हरियो झण्डा देखाएपछि शुक्रबार समितिको बैठकले औपचारिक निर्णयको रुपमा यो खबरलाई सार्वजनिक गरेको हो । 

बजारमा के पर्ला प्रभाव ?
आगामीको साताको बजारमा यो खबरको सकारात्मक प्रभाव पर्ने निश्चित छ । कारण बिमा कम्पनीहरुको चुक्तापूँर्जी वृद्धिको हल्ला मात्र आउँदा समेत बिमा समूहको सूचकले बुुर्कुुसी माथ्र्यो भने अब निर्णय नै भएपछि नबढ्ने भन्ने प्रश्नै उठ्दैन । अबको केही दिनसम्म बिमा कम्पनीहरुको सेयर किनबेचमा मारामार हुुने प्रष्ट संभावना छ । यस्तै, चुक्तापूँजी वृद्धि गर्नुपर्ने हुँदा कतिपय बिमा कम्पनीबीच मर्जर हुने, आफैं पूँजी पुर्याउनुपर्ने कम्पनीहरुले ठूलो मात्रामा हकप्रद र बोनस सेयर जारी गर्नुपर्ने अवस्था समेत आउनेछ । यसले ठूलो परिमाणमा सेयरको आपूर्ति बढाई बजारमा अवसरहरुका थप बाटो खोलिदिने विश्वास गर्न सकिन्छ ।