काठमाण्डौ । अमेरिकी अर्बपति तथा विश्वका दोस्रो धनाढ्य बिल गेट्सले विश्वलाई पहिलेकै अवस्थामा फर्काउन कोरोनाभाइरसविरुद्धको खोप विकास नै अन्तिम र निर्विकल्प अस्त्र भएको छन्। 

बीबीसीसँगको कुराकानीमा बिल गेट्सले कोरोनाविरुद्धको खोप विकास नै विश्वलाई पहिलेकै शैलीमा फर्काउने सकिने एकमात्र उपाय भएको बताएका हुन्। उनले डे वर्षमा खोप बनाउन सम्भव भए पनि त्यसका लागि सुरक्षा परीक्षणमा सम्झौता गर्नुपर्ने हुन सक्ने पनि औंल्याएका छन्। 

माइक्रोसफ्ट कम्पनीका संस्थापक गेट्सले तत्काल रोग निदानका निम्ति आवश्यक पर्ने सामग्री निर्माणका कार्यक्रममा विगतमा लगानी नगरिएको बताए। उनले त्यस्तो लगानी गरिएको हुँदो हो त खोप निर्माणको अवधि आधामा घट्न सक्ने थियो भनेका छन्। "एक समय थियो जतिखेर मैले अनि कैयन् अरू स्वास्थ्य विज्ञहरूले यस (महामारी)लाई संसारले भोग्न सक्ने सम्भवत: सबभन्दा विषम जोखिम भनेका थियौँ," उनले भने।

सन् २०१५ को एउटा सम्बोधन तथा न्यू इङ्ग्ल्यान्ड जर्नल अफ मेडिसिनमा यस्ता सम्भाव्य खतराबारे औँल्याइएको तर त्यसअनुसार आवश्यक लगानी भने गर्न नसकिएको उनले सम्झना गरेका छन्। कोरोनाभाइरस सङ्क्रमणका विवरणका आएका पहिलो केही महिनामा पनि खासगरि परीक्षणसम्बन्धी काम अपेक्षाकृत हुन नसकेको भन्दै उनले संसारका थोरै देशहरूले मात्र महामारीसँग जुझ्न गतिलो काम गर्न सकेको बताए।

अहिले विश्वनै हालसम्मकै सबभन्दा आवश्यक खोप निर्माणको दौडमा लागेको उनले बताएका छन्। गेट्सको परोपकारी फाउन्डेसनले पनि खोप निर्माणको अनुसन्धान र विकासमा मद्दत गरिरहेको छ।