काठमाण्डौ । बिल गेट्सलाई विश्वका लाखौं मानिसहरु आफ्नो हिरो ठान्छन् र उनीजस्तै बन्ने सपना देख्छन् । तर, के तपाईलाई थाहा छ विश्वका लाखौंले हिरो मान्ने यिनै व्यक्तिको हिरो(प्रेरणाको स्रोत) चाहि को होला ? बिल गेट्स स्वयम्ले हालै यो कुराको खुलासा गरेका छन् । गेट्सका अनुसार उनको जीवनका हिरोहरु एकदुईजना मात्र नभएर ५ जना रहेका छन् । बिल गेट्सले यी ५ जनाबाटै आफ्नो जीवनकालमा कुनै न कुनै प्रेरणा लिएको बताएका छन् ।

गेट्सका यी हिरो यस्ता छन्, जसले मानवता र मानिसहरुको भलाईका लागि काम गरेका छन् । यस्तो काममा उनीहरुले प्रविधिको समेत सहयोग लिएका छन् । 

आउनुहोस् गेट्सका यी ५ हिरोलाई अझ नजिकबाट चिनौं । 

१.सेजेनेट केलेमू


सेजेनेट केलेमू इथोपियाको एक गाउँसँग सम्बन्ध राख्छिन् । उनको गाउँमा एकपटक बिषाक्त झारले किसानहरुको अन्नबालीलाई सखाप बनाइदियो । त्यसपछि केलेमूले किसानहरुको अन्नबाली जोगाउन र संभावित ठूलो जोखिमबाट बचाउन विज्ञानको साहारा लिने बिषयमा सोचिन् । आफ्नो यही इच्छालाई पूरा गर्नकै लागि उनले कृषि वैज्ञानिक बन्ने सपना बुनिन् र अन्ततः उनी आफ्नो क्षेत्रकै पहिलो महिला कृषि वैज्ञानिक समेत बनिन् । यसका लागि उनी अमेरिकाको ग्राजुएट स्कूलमा गइन् र दक्षिण अमेरिकाको एक इन्टरनेशनल रिसर्च सेन्टरमा काम गर्न थालिन् । २५ वर्षसम्म विदेशमा प्लान्ट प्याथोलोजिस्टको रुपमा काम गरेपछि उनी सन् २००७ मा अफ्रिका फर्किन् । उनको उद्देश्य  वैज्ञानिकको यस्तो नयाँ जेनेरेशनलाई अगुवाई गर्नु थियो, जसले विश्वका साना किसानलाई धेरै अन्नबाली उब्जाउने र उनीहरुलाई गरीबीबाट बाहिर  निकाल्न सकून् । हाल  केलेमू न्यारोबीमा इन्टरनेशनल सेन्टर फर इन्सेक्ट फिजियोलोजी एण्ड इकोलोजीका महाप्रबन्धकको रुपमा कार्यरत छिन् । 

२.म्याथ्यू भर्गिस


बिल गेट्सका अर्का हिरो भारतका  चिकित्सक डा. म्याथ्यू भर्गिस रहेका छन् । दिल्लीको सेन्ट स्टीफन्स अस्पतालका अर्थोपेडिक सर्जन डा.म्याथू भर्गिस भारतमा पोलियो वार्ड चलाउने एक्ला व्यक्ति हुन् । यो वार्डमा डा. भर्गिस पोलियोबाट ग्रस्त बिरामीलाई रिकन्स्टक्टिव सर्जरी सेवा उपलब्ध गराउँछन् ताकि उनीहरु हिँडडूल गर्न सक्ने होउन् । सन् २०११ मा भारतमा गरिएको पोलियो उन्मूलनको घोषणा विश्वको जनस्वास्थ्यको क्षेत्रमा हासिल ठूला उपलब्धिमध्ये एक मानिन्छ । २०११  पछि भारतमा पोलियाको एउटा पनि नयाँ  केश  बाहिर आएको छैन, तर पोलियोसँग जुधिरहेका पुराना बिरामीको संख्या हजारौं छ ।

३. अदा ओकोली


नाइजेरियन डाक्टर अदा ओकोली त्यतिबेला एकाएक चर्चामा आइन्, जति बेला लागोस हस्पिटलमा आफ्ना बिरामीको  हेरचाह गरिरहेकै समयमा उनी इबोला भाइरसबाट ग्रसित भइन् । ओकोली आफैंले बिल गेट्सलाई इबोलासँगको आफ्नो संघर्षको कथा सुनाएकी थिइन् । यसपछि अदाले आफ्नो मेडिकल करिअर नै भविष्यको संभावित महामारीलाई लिएर रिसर्च, त्यसको उपचार तथा रोकथाममा समर्पित गरिदिइन् । उनको साहास र आशावादी व्यक्तित्वले बिल गेट्सलाई धेरै नै प्रेरित गरेको उनले बताएका छन् ।

४.एना रासलिङ


ग्यापमाइण्डरकी सहसंस्थापक रासलिङ कला र विज्ञानको माध्यमबाट यो विश्व र यहाँ बस्ने  मानिसहरुको जिन्दगी देखाउने तथा सम्झाउने कोशिश गरिरहेकी छिन् । बिल गेट्सले उनको नयाँ अभियानलाई निकै राम्रो काम भनेका छन् । रासलिङले डलर स्ट्रीट नामको एक अभियान संचालन गर्ने गरेकी छिन्, जसबाट गेट्स निकै धेरै प्रभावित छन् । यो अभियान अन्तर्गत रासलिङले फोटो तथा निकै धेरै डाटाको  प्रयोगबाट विश्वका मानिस कसरी बाँचिरहेका छन् भन्ने  बिषय बुझाउने कोशिश गरिरहेकी छिन् । बिल गेट्सको भनाईमा रासलिङको कोशिशले मानिसलाई आफैंलाई तथा विश्वलाई राम्रो ढंगले बुझाउन वा सम्झाउन सहज  हुनेछ ।

५.केमिली जोन्स


केमिलीलाई सन् २०१७ को वाशिङ्टन स्टेट टिचर अफ दि इयरको उपाधि  प्राप्त भएको छ । वाशिङ्टनको क्विन्सीस्थित एक गाउँमा हुर्किएकी जोन्स सन् २०१० मा शिक्षक  बन्नका लागि आफ्नो होमटाउन फर्किइन् । उनले विद्यार्थीलाई सैद्धान्तिक माध्यमभन्दा प्रयोगात्मक माध्मयबाट सिकाउने गर्छिन् । उनले आफ्ना विद्यार्थीलाई विज्ञान, प्रविधि, इञ्जिनियरिङ, कला तथा  गणितको माध्यमबाट प्राप्त हुनसक्ने संभावनाको खोजी गर्न प्रेरित गर्छिन् । जोन्सले आफ्नो काम तथा  कोशिशबाट वाशिङ्टन स्टेटका विद्यार्थीलाई केही ठूलो सोच्न तथा गर्न मद्धत गरिरहेकी छिन्।