काठमाण्डौ । गभर्नर महाप्रसाद अधिकारी स्विट्जरल्यान्डको बासेलमा आयोजित द बैंक फर इन्टरनेसनल सेटलमेन्ट्स (बीआईएस)को ९३ औँ वार्षिक बैठकमा सहभागी भई मंगलबार (असार १२ गते) स्वदेश फर्किएका छन्। 

असार ९ र १० गते चलेको बैठकमा बीआईएसका सदस्य राष्ट्र, विश्वका विभिन्न केन्द्रीय बैंक तथा मौद्रिक अधिकारीका प्रतिनिधिको सहभागिता थियो। बैठकका क्रममा गभर्नर अधिकारीले फाइनान्सियल स्टाब्लिटी इन्स्टिच्युटद्वारा असार ९ गते आयोजित ‘पोलिसी अप्रोचेज फर एड्रेसिङ रिस्के पोज्ड बाई क्रिप्टो एसेस्ट्स एन्ड डिसेन्ट्रलाइज्ड फाइनान्स’ विषयक अन्तरक्रियामा सहभागी भएका हुन्। 

त्यस क्रममा गभर्नर अधिकारीले क्रिप्टोकरेन्सीले ल्याउन सक्ने चुनौती र त्यसलाई सम्बोधन गर्न नेपालले अवलम्बन गरेको नीतिगत व्यवस्थाका सम्बन्धमा जानकारी दिए। बैठकमा बीआईएसका महाप्रबन्धक अगस्टिन कार्टेन्सले बीआईएसको वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै उच्च मुद्रास्फीति र वित्तीय स्थायित्वमा देखिएको चुनौतीका कारण विश्वभरका केन्द्रीय बैंकहरु दबाबमा रहेको चर्चा गरे। 

यसैगरी असार १० गते आयोजित ‘ओभरकमिङ क्रस–बोर्डर पेमेन्ट च्लोन्जेज फर इमर्जिङ मार्केट्स एन्ड डेभल्पिङ इकोनोमिज (ईएमडीईएस) विषयक ‘सेन्ट्रल बैंक राउन्डटेबल’मा समेत गभर्नर अधिकारी सहभागी भए। 

बैठकका क्रममा गभर्नर अधिकारीले स्टेट बैंक अफ पाकिस्तानका गभर्नर जमिल अहमदसँग भेटवार्ता गरेका छन्। भेटका क्रममा दुवैबीच मूल्यस्थिति, वित्तीय स्थायित्व र बाह्य क्षेत्र व्यवस्थापनका विषयमा छलफल भएको थियो।

बैठकको सिलसिलामा गभर्नर अधिकारीले ‘बीआईएस इनोभेसन हब’ को अवलोकन गर्दै हबमा राखिएका विभिन्न प्रोजेक्टबारे जानकारी लिएका थिए। 

बीआईएस एक अन्तर्राष्ट्रिय वित्तीय संस्था हो। जसले विश्वभरका केन्द्रीय बैंकबीचको समन्वय र नीतिगत प्रयासबाट मौद्रिक तथा वित्तीय स्थायित्व प्रवर्द्धनका निम्ति आवश्यक भूमिका निर्वाह गर्दछ। सन् १९३० मा स्थापित यो संस्थामा हाल ६३ वटा केन्द्रीय बैंक सदस्य छन्। यसको मुख्यालय स्विट्जरल्यान्डको बासेलमा रहेको छ।