काठमाण्डौ ।नेपाल बीमा प्राधिकरणले फलफूलको बीमा हुने गरी ‘आँप खेती बीमालेख’ जारी गरेको छ ।

सरकारले विसं २०६९ मा कृषि तथा पशुपंक्षी बीमा योजना ल्याएदेखि कृषकहरु बालीनाली (फलफूल) तथा पशुपंक्षीको बीमामा आकर्षित भएका छन् । 
कृषि बीमामा किसान तथा व्यापारीहरुको आकर्षण बढेपछि प्राधिकरणले फलफूलको समेत बीमा हुने गरी ‘आँप खेती बीमालेख’ जारी गरेको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । 

यस बीमालेखमार्फत विशेषगरी तराई क्षेत्रमा आँप खेती गर्ने किसानहरुलाई सहुलियत मिल्ने उनको भनाइ छ ।

आँप खेती बीमालेख अन्तर्गत बीमकको फसलमा अग्निजन्य क्षति, हावाजन्य क्षति, पानीजन्य क्षति, मौसमजन्य क्षति, भूमिजन्य क्षति, चट्याङजन्य क्षति, आकस्मिक वा दुर्घटनाजन्य बाह्यकारणबाट हुने क्षति र रोग वा किराजन्य क्षति भएमा बीमा कम्पनीले बीमांक रकमको सीमाभित्र रहेर क्षतिपूर्ति प्रदान गर्नेछन् । 

उक्त बीमालेख अन्तर्गत बीमकलाई दुर्घटना बीमाको समेत सुविधा प्राप्त हुने प्राधिकरणले बताएको छ । आँप खेती बीमा लेखमा उल्लेख गरिएको बीमा अवधिभित्र बीमितको दुर्घटना भई अंगभंग भएमा बीमा कम्पनीले २ लाख रुपैयाँ भुक्तानी गर्नेछ । 
आँप खेतीको बीमाशुल्क निर्धारण 
यस बीमालेख अन्तर्गत आँप खेतीको बीमालेख जारी गर्दा लागतको र उत्पादनको आधारमा गर्न सकिनेछ ।

प्राधिकरणका अनुसार लागतका आधारमा आँपको बोटको उमेर १२ महिनादेखि ४० वर्षसम्मको प्रतिबोट उत्पादन लागतखर्च १ हजार ९९० रुपैयाँदेखि ४ हजार ५५० रुपैयाँसम्म लाग्नेछ । 
 

त्यस्तै, उत्पादनमा आधारित बोटको उमेर पाँच वर्ष पूरा भएको बोटदेखि ४० वर्षसम्मको बोटमा न्यूनतम ५० केजी अाँपदेखि अधिकतम ११५ केजी आँपसम्मको बीमा गराउन सकिनेछ । 
यस बीमालेख बमोजिम जारी हुने आँप खेतीको बीमा शुल्क लागतको आधारमा ५ प्रतिशत र उत्पादनको आधारमा ७ प्रतिशत कायम हुनेछ । 
साथै यस बीमा लेखमा उल्लेख भएको दुर्घटना बीमाबापत बीमाशुल्क प्रतिबीमित ५००रुपैयाँ लाग्नेछ । 

दाबी भुक्तानी
बीमा कम्पनीले लागतको आधारमा गरिएको आँप खेतीको बीमाको दाबी भुक्तानीगर्दा अनुसूची–८ बमोजिमको दाबी भुक्तानी तालिकाको आधारमा लिई गर्नुपर्नेछ । 

 

साथै उत्पादनको आधारमा गरिएको आँप खेतीको दाबी उत्पादनकै आधारमा गरिने प्राधिकरणले बताएको छ ।

उत्पादन (फल) र लागतको (बोट) दुबैको आधारमा गरिएको आँप खेतीमा बीमा दाबी परेमा सोही उत्पादन र लागतकै आधारमा बीमा कम्पनीले दाबी भुक्तानी गर्नुपर्नेछ ।
तर एक सिजनको फल टिपिसकेपछि पुनःअर्को सिजनमा फल लाग्न चाहिने अवधिभित्र बोटमा कुनै क्षति भएमा लागतको आधारमा मात्रै दाबी गर्न सकिने पनि प्राधिकरणले जानकारी दिएको छ ।