काठमाण्डौ। बीमा रकम प्राप्तिका लागि आफ्नै टिपरमा आगजनी गर्ने ३ जना पक्राउ परेका छन्। 

ललिपुर जिल्लाको गोदाबरी नगरपालिका–१२ ठेचोस्थित नख्खुखोला करिडोर सडकखण्डमा बीमा रकम प्राप्त गर्ने उद्देश्यले आफ्नै टिपरमा आगजनी गर्ने प्रदीपकुमार खत्री, रंगबहादुर बुढाक्षेत्री र भीमसेन खत्री पक्राउ परेका हुन्। बा ३ ख २८९४ नम्बरको टिपर मासिक किस्ता तिर्ने गरी १३ लाख रुपैयाँमा १३ महिनाअगाडि प्रदीपले खरिद गरी आफ्ना कान्छा भाइ भीमसेनले चलाइरहेका थिए। करिब ४ महिनादेखि भने उक्त टिपर नख्खुखोला सडकखण्डमा बिग्रिएर थन्किएको ललितपुर प्रहरी परिसरले जनाएको छ। 

बिग्रिएर थन्किएको अवस्थामा रहेको र मर्मत गर्न धेरै पैसा लाग्ने भएपछि प्रदीपको योजनामा रंगबहादुर र भाइ भीमसेनको मिलेमतोमा उक्त टिपरमा गत साउन १२ गते राति पेट्रोल छर्किएर आगो लगाइएको पत्ता लागेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरीउपरीक्षक नवराज कार्कीले जानकारी दिए। ‘त्यसपछि प्रदीपले भोलिपल्ट दिउँसो प्रहरी वृत चापागाउँमा आएर आगो लगाउने अपरिचित व्यक्तिहरुको खोजतलास गरी कारबाही गर्नुका साथै बीमा प्रयोजनार्थसमेत आवश्यक सिफारिस गरी पाउँ भनी पेस गरेका थिए’, उनले भने, ‘उक्त घटनामा शंका लागि अनुसन्धान गर्दा बीमा रकम प्राप्तिका लागि आफ्नै टिपरमा आगजनी गरी आपराधिक उपद्रव गरेको देखिएको हो।’ 

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार खत्री दाजुभाइ रामेछापको मन्थली–१२ का बासिन्दा हुन् भने रंगबहादुर सिन्धुलीको दुधौली–१४ स्थायी बान्दिा हुन्। घटनाको थप अनुसन्धान गर्न तीनैजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। हाल ललितपुर जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीउपरीक्षक कार्कीले जानकारी दिए।